वीरगञ्ज। बीरगन्जस्थित नारायणी अस्पतालको पछिल्लो रिपोट अनुसार बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका १९ जनासहित थप ४९ जनामा संक्रमणको पुष्टि भएको छ | अस्पतालको हिजोको रिपोट अनुसार ४९ जना नयाँ र लगातार रुपमा पोजेटिभ रिपोट आइरहेका एक संक्रमित गरी ५० जनामा संक्रमण देखिएको छ । नयाँ संक्रमित हुनेमा दुई वर्षीय बालकदेखि ५३ वर्षसम्मका रहेका छन् । थपिएका नयाँ संक्रमितमा १२ जना महिला रहेका छन् ।सबैभन्दा धेरै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका १९ जना रहेका छन् ।
सो उपमहानगरपालिकाको वडा नं. १४ देखि वडा नं. २५ सम्मका व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । वडा नं. १४ का ३ जना, १५ देखि वडा नं. २४ सम्मका एक/एक जना र वडा नं. २५ का ६ जना संक्रमित भएका छन् । एक जना सिमरा क्वारेन्टिनमा रहेका आर्मीमा पनि संक्रमणको पुष्टि भएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं. २२ का एक दुई वर्षीय बालक पनि संक्रमित भएका छन् ।
यता, पछिल्लो रिपोट अनुसार नारायणी अस्पतालमा एक जना चिकित्सकसहित थप ९ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका छन् । संक्रमित हुनेमा एक जना अस्पतालको एनआईसीयुका एक जना चिकित्सक छन् । संक्रमित हुनेमा मेडिकल वार्डका तीन जना स्वीपर र एक कार्यालय सहयोगी गरी ४ जना, फिजियोथेरापी स्टाफ एक जना, पोषण वार्डका एक जना, एक जना फार्मेसीका कर्मचारी र अन्य एक जना छन् ।
थपिएका अन्य संक्रमितहरुमा बीरगन्जको श्रीपुर, घडिअर्वा, पानीट्यांकी, वडा नं. २, ४, १३, १४, १५, २५, लगायतका वडाका पनि छन् । ५ जना सशुल्क परिक्षण गराएका व्यक्तिमा पनि संक्रमणको पुष्टि भएको छ । त्यस्तै, एक जना ग्लोबल आईएमई बैंकका कर्मचारी पनि संक्रमित भएका छन् ।सेक्युरेटी गार्डमा काम गर्ने ३ जना सेक्युरेटी गार्डमा पनि संक्रमणको पुष्टि भएको छ ।भारतीय महावाणिज्य दुतावासका एक जना कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको छ ।यस्तै, बाराको विश्रामपुरका एक जना रहेका छन् भने महोत्तरीको जलेश्वरका चार वर्षीय बालकसहित दुई जना संक्रमित भएका छन् ।