वीरगंज | विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन रुस आँफैले प्रमाणित गरे मान्यता नहुने बताएको छ । रुसले बिकास गरेको भ्याक्सिनबारे आफूहरुलाई केही जानकारी नभएको बताउदै (डब्ल्युएचओ)ले ऊ एक्लैले प्रमाणित गरे आधिकारिकता नहुने बताएको हो ।
संगठनले रुसले भ्याक्सिन बनाउदै गरेको हल्ला सुनेकाे तर त्यसको मुल्यङ्कनका लागि आफूकहाँ कुनै जानकारीसमेत नआएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्- ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन। भ्याक्सिन बनाउने जो कोहीले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ ।’
भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेपछि मात्रै कोरोनाबिरुद्ध भ्याक्सिनले आधिकारिकता पाउने डब्ल्युएचओको भनाइ छ । यसअघि पनि संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।
रुसले कोरोनाभाइरसको खोप बनाएको दाबी गरिरहेको छ । मंगलबार नै रुसी राष्ट्रपति पुटिनले कोरोनाभाइरसविरुद्धको खोपलाई अनुमोदन गरेको बताइएको थियो । राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनबाट मस्को गामालेया इन्स्टिच्युटले बनाएको खोप सुरक्षित रहेको दाबी गर्नुभएको छ ।