वीरगंज । रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरी अक्टोबर महिनामा सर्वसाधारणमा प्रयोगमा ल्याउने जनाइसकेको छ । उसले विभिन्न देशहरुमा भ्याक्सिनको माग भइसकेको जनाएको छ । अमेरिकाले र युरोपमा पनि भ्याक्सिनको विकास हुँदैछ । सम्भवत सन् २०२१ को शुरुमा भ्याक्सिन विकास गरी प्रयोगमा ल्याइनेछ । चीनले सैनिक र स्वास्थ्यकर्मीमा कोरोना भ्याक्सिनको प्रयोग शुरु गरिसकेको छ ।
सँसारका शक्तिशाली र धनी देशहरुले कोरोना भाइरसको भ्याक्सिन विकास गरी प्रयोगको समेत तयारी गरेका छन् । तर, आर्थिक रुपमा विपन्न देशहरुले भ्याक्सिन कहिले प्रयोग गर्न पाउलान् ? यो गम्भीर प्रश्न बनेको छ । नेपालमा भ्याक्सिन कहिले आइपुग्ला ? यसलाई केलाउँदा भ्याक्सिन कति प्रकारका उत्पादन हुन्छन ? कुन कुन देशले उत्पादन गर्छन् ? कति मात्रामा उत्पादन गर्छन् ? मुल्य कति पर्छ ? माग र आपूर्तिको अवस्था कस्तो हुन्छ ? उत्पादन गरिएका भ्याक्सिनको प्रभावकारिता, सुरक्षा र विश्वसनीयता के हुन्छ ? विश्व स्वास्थ्य संगठनले सबैमा पहुँच पुर्याउने कस्तो भुमिका खेल्छ ? भन्ने यथार्थलाई केलाउनुपर्ने हुन्छ ।
धनी देशहरु अहिले नै भ्याक्सिन प्रयोग गरेर ढुक्कसाथ आर्थिक तथा सामाजिक गतिविधिमा सक्रिय हुने तयारीमा पुगिसकेका छन् । कोरोना भाइरसले समस्यामा पारेको नेपाल जस्तो देशहरुमा यस्तो तयारी देखिदैन । यसले कम्तिमा एक वर्ष आर्थिक गतिविधिमै समस्या पारिरहने खतरा बढेको छ ।
धनी देशहरुमा सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने महत्वाकांक्षी योजना अनुसार काम भइरहेको छ । तर, आर्थिक रुपमा पछाडि परेका देशहरुका लागि भ्याक्सिन यो वर्ष त के सन् २०२१ सम्मको अन्तसम्ममा उपलब्ध हुनेमा शंका व्यक्ति गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सन् २०२१ को अन्तसम्ममा आर्थिक रुपमा विपन्न देशहरु र मध्यमस्तरका देशहरुका लागि कोभ्याक्स कार्यक्रम अन्र्तगत कोरोना भ्याक्सिनको प्रयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कम्तिमा दुई अर्ब भ्याक्सिनको डोज आवश्यक पर्ने आँकलन गरिएको छ ।
डब्लुएचओले सोमबार प्रेस ब्रिफिङमा कोरोना भ्याक्सिन विकास र सँसारभरका मानिसहरुका लागि उतिनै पहुँचको निमाण गर्न मात्र कम्तिमा एक खर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । तर, अहिलेसम्म दश प्रतिशत रकम पनि नउठेको जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोज गेब्रिएससले सोमबार पत्रकार सम्मेलनमा आवश्यक एक खर्ब डलरमध्ये दश प्रतिशत रकम पनि नउठेको जानकारी दिएका हुन् ।
भ्याक्सिनको लागि मात्र आवश्यक पर्ने एक खर्ब डलर सँसारका २० धनी मुलुकहरुले कोरोना महामारीको जोखिमसँग जुध्न १० खर्ब डलर खर्च गरिसकेकाले कोरोना भ्याक्सिन सँसारभरका मुलुकमा सहज तरिकाले उपलब्ध गराउन गर्नुपर्ने खर्च तुलनात्मक रुपमा निकै कम भएको टिप्पणी गरेका छन् । डब्लुएचओले कोषमै समस्या भएको जनाउनुलाई अर्थपूर्ण मानिएको छ ।
कोरोना भ्याक्सिनको मुल्य महङ्गो पर्ने भएकाले विश्वका सबै देशले प्रयोगमा ल्याइहाल्न मुश्किल पर्न सक्छ । गरिब देशहरुका लागि सन् २०२१ मै कोरोना भ्याक्सिन प्राप्त गर्न कठिन हुने यसबाट पनि प्रमाणित भएको छ । अर्कोतर्फ, धनी देशहरुले पहिले आफ्नो देश र मोटो रकम तिर्न सक्ने देशहरुलाई भ्याक्सिन उपलब्ध गराउन सक्छन् । रुसी भ्याक्सिन पनि आर्थिक बजार हेरेर प्रयोग हुनसक्छ ।
रुसी भ्याक्सिन प्रतिवर्ष केही करोडमात्र उत्पादन गर्न सक्ने क्षमताको छ । त्यसैले पहिले रुसी जनतामा प्रयोग गर्छ । यसमा महिनौं लाग्ने भएकाले अन्य देशमा पुग्न समय लाग्छ नै । त्यसमाथि नेपालमा आउन झनै समय लाग्छ ।भ्याक्सिन त्यति नै महङ्गो पनि पर्नसक्छ । कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको कम्पनिमध्येको सेरम इन्स्टिच्युट अफ इन्डियाले प्रतिडोज तीन डलर मात्र पर्ने जनाइएको छ । सेरमले एकैपटक १० करोड डोज उत्पादन गर्ने योजना बनाएको छ । जसको मूलय तीन डलर अर्थात् नेपाली रुपैयाँ ३६० पर्न जान्छ ।
सेरमले बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनमार्फत् भ्याक्सिन विकासका लागि १५ करोड डलर फन्डिङ प्राप्त गरेको छ । सेरमको अक्सफोर्ड युनिभर्सिटी आस्ट्राजेनेका र नोभाभाक्ससँग भ्याक्सिन विकासका लागि सम्झौता गरेको छ । उनीहरुले भ्याक्सिन अनुमोदन गरिएपछि उत्पादनका लागि सेरम तयार भएको छ ।मोर्डनाले कोभिड १९ को भ्याक्सिनको मुल्य प्रतिडोज ५० देखि ६० डलर अर्थात् नेपाली रुपैयाँ सात हजारसम्म लिने गरी तयारी गर्दैछ । अर्को अग्रपंक्तिमा रहेको भ्याक्सिन उत्पादक कम्पनि पिफिजरले प्रतिडोज ४० डलर अर्थात् नेपाली रुपैयाँ पाँच हजार मुल्यको योजना बनाएको छ ।सेरम कम्पनिले नै यसअघि अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिनको प्रतिडोज २० डलर अर्थात् नेपाली २५ सय रुपैयाँ जति राख्ने तयारी गरेको थियो ।
मार्डना कम्पनिले भ्याक्सिन अमेरिकामा प्रतिडोज ३९ डलरमा विक्री गर्ने तयारी समेत गरेको छ । तर, अन्य बजारमा मुल्य घटबढ हुनसक्छ ।अस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र पिफिजरले भ्याक्सिनबाट नाफा खाने उद्देश्य राखेका छैनन् । उनीहरुले विना नाफा भ्याक्सिन कम मुल्यमा विक्री गर्ने तयारी गरेका छन् । मोर्डनाले भने भ्याक्सिन विना नाफा नबेच्ने जनाइसकेको छ ।
यसरी भ्याक्सिनको मुल्य, प्रभावकारिता र सक्रियताले पनि समयमा ल्याउन सक्ने अवस्था बन्नसक्छ । अहिले भ्याक्सिन विकासको गति र विश्वभर बढ्दो माग र आपूर्तिको अवस्था हेर्दा नेपालमा आउन कम्तिमा एक वर्ष लाग्न सक्छ । भारत र चीनले भ्याक्सिन छिटो उत्पादन गरेर छिमेक भएकाले नेपाललाई प्राथमिकतामा राखेर दिन तयार भएमा भने एक वर्ष नलाग्न सक्छ ।