विराटनगर । स्वास्थ्यमा समस्या आएपछि विराटनगर महानगरपालिका-१० का ६३ वषर्ीय रमेश अग्रवालले बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा गएर कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब दिए ।कोशीको रिपोर्ट नआउँदै स्वास्थ्य गम्भीर बन्यो । आफन्तले शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रठिष्ठान धरान पुर्याए । धरानले पनि उनको स्वाब संकलन गर्यो । मृगौलासम्बन्धी समस्या देखिएका अग्रवालको उपचारका क्रममा मृत्यु भयो ।
तर २४ घण्टाभन्दा कम अन्तरमा दुई ठाउँमा दिएको स्वाबको रिपोर्ट भने अलग-अलग आएको छ ।धरानले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर पठाएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।प्रदेश प्रयोगशालामा कोरोना जाँचका लागि पोर्टेबल पीसीआर मेसिन छ, जसले अन्य मेसिनको तुलनामा छिटो रिजल्ट दिने भएकाले प्रदेशका अस्पतालहरुले इमरजेन्सी अवस्थाका शंकास्पद विरामीको स्वाब प्रदेशमा पठाउँदै आएका छन् ।
रिपोर्ट नेगेटिभ आएपछि अस्पताल प्रशासनले थोरै मलामी जाने सर्तमा शव आफन्तको जिम्मा लगायो ।तर कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अग्रवालको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार कोशीमा स्वाब पहिला दिएकाले त्यसलाई नै आधार मानेर मृतकका आफन्तको पीसीआर जाँच गरिने छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरका सूचना अधिकारी प्रकाश कार्कीले भने मेसिनको खराबी नभई स्वाब संकलनमा ध्यान नदिए रिपोर्टमा फरक आउनसक्ने बताउँछन् ।