वीरगंज | नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना भाइरस संक्रमित ६५ वर्षीय डा. ज्ञानेन्द्रमान सिंह कार्की संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
त्यस्तै, मेडिसिटी अस्पतालमा पनि दुईजना कोरोना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार गरिएको छ। अस्पताल स्रोतका अनुसार दुई जना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो।
प्लाज्मा थेरापीपछि ग्राण्डी अस्पतालमा उपचाररत डा. कार्की डिस्चार्ज भएका हुन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचाररत डा. कार्कीको स्वास्थ्य समस्या बिग्रँदै गएपछि साउन ९ गते काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।
निमोनिया भएका डा.कार्कीको स्वास्थ्य स्थिति गम्भीर हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखी ९० प्रतिशत अक्सिजन दिइएको थियो।
भेन्टिलेटरमा राखेर अक्सिजन दिँदै गर्दा स्वास्थ्य स्थिति खस्किँदै गएपछि डा. कार्की अस्पतालमा भर्ना भएको पाँचौँ दिनमा प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो।
उक्त विधिबाट गरिएको उपचारपछि संक्रमित डा. कार्कीको स्वास्थ्यमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकले बताए।
चार दिन अगाडि मात्रै टिचिङबाट डा. कार्की ग्रान्डी गएका थिए।
ग्रान्डीमा भर्ना भएका डा. कार्कीका रिपोर्ट दुई पटक नेगेटिभ देखिएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको बताएको छ।
प्लाज्मा थेरापी कोरोना भाइरसको संक्रमण भएका गम्भीर प्रकृतिका विरामीको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिएको छ। यो विधि विश्वका धेरै देशहरुले प्रयोगमा ल्याइसकेका छन्।