वीरगञ्ज | वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पताल चहार्दाचहार्दै मृत्यु भएको हाे।वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि अटोमा राखेर डुलाउँदा डुलाउँदै मृत्यु भएको आफन्तले बताएका छन्।
लामालाई शुक्रबार राति १० बजेको समयमा स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल लगिए पनि कुनै पनि अस्पतालले भर्ना गर्न नमानेको उनका भिनाजु रुपेश सिंहले बताए।‘स्वास प्रस्वासमा समस्या र ज्वरो आएपछि राति नै वीरगञ्जका थुप्रै अस्पतालहरुमा लिएर गयौँ तर, कसैले पनि भर्ना गर्न मानेन’, सिंहले भने, ‘बिरामी सालीलाई लिएर एक देखि अर्को अस्पताल घुम्दा घुम्दै मृत्यु भयो।’
सुरुमा उनलाई वीरगञ्जको एडभान्स अस्पताल लगिएको थियो। त्यहाँ उपचारको लागि आईसीयू खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न नमानेको सिंहले बताए।त्यसपछि गण्डकस्थित बयोधा अस्पताल लगिए पनि त्यहाँबाट समेत फर्काइएको सिंहले बताए। बयोधा अस्पतालका डाक्टरहरुले ‘कोरोनाको लक्षण देखिएका बिरामीको यहाँ चेकजाँच हुन नसक्ने’ भनेर फर्काएको उनले बताए।
बयोधाबाट फर्केपछि सिंहले बिरामीलाई वीरगञ्जकै अर्को एक निजी अस्पताल तराई अस्पतालमा लगे। त्यहाँ पनि स्वास प्रस्वासमा समस्या छ भनेपछि आइसीयू नभएको भन्दै गेटबाटै फर्काइएको उनले बताए।सिंहले त्यसपछि बिरामी सालीलाई वीरगञ्जकै भवानी मेडिकलमा लगेर गए। तर त्यहाँ सटर बन्द थियो । भित्रबाट एक कर्मचारीले यहाँ चेकजाँच नहुने भन्दै फर्काए।
त्यसपछि उनले सरकारी अस्पताल नारायणीमा बिरामी सालीलाई लगे। तर नारायणीमा पनि उनलाई भर्ना नगरिएपछि वीरगञ्ज हेल्थ केयरमा लगियो । त्यसपश्चात सिंहले गण्डकस्थित वीरगञ्ज हेल्थ केयरमा लगे।त्यहाँ पनि बिरामीलाई भर्ना गर्न मिल्दैन यहाँ कोरोनाका बिरामीहरुलाई मात्रै भर्ना गरिन्छ भनेर गण्डक अस्पतालमा लान भनि फर्काइयो । पछि धेरै भनसुन गर्दा गण्डक कोभिड अस्पतालमा लगेर भर्ना गरेको भएपनि रातिको करिब २ बजे सालीको मृत्यु भएको सिंहले बताए।कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा सालीको ज्यान गएको उनले बताए।