वीरगंज । सारा विश्व अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नमा जुटेको छ ।चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको भनिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
यसैबीच चीनमा फेरी अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । एक किराको टोकाईबाट सर्ने यो संक्रमणले अहिले चीनमा ७ जनाको मृत्यु भएको छ भने ६० जना भन्दा धेरै संक्रमित भएका छन् ।
यो भाइरसका कारण थ्रोम्बोसाइटोपेनियाको साथमा धेरै खोकी लाग्ने गर्दछ । अहिले चीनका स्वास्थ्य अधिकारीहरु यस भाइरसका कारण चिन्तित बनेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ठूलो संख्यामा चीनको जिग्यांशु र अनहुई प्रान्तमा यो भाइरसबाट मानिसहरु संक्रमित बनेका छन् ।
यो भाइरस टिक नामको किराको टोकाईबाट मानिसमा सर्दछ । चिनियाँ भाइरस विशेषज्ञले भाइरस मानिसबाट मानिसमा सर्ने भएकोले सतर्क रहन भन्दै चेतावनी दिएका छन् ।
थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम भाइरस (एसएफटीएसबी) हुँदा खोकी धेरै लाग्छ ।
यो भाइरसको पहिचान पहिला एक दशक अगाडि सन् २००९ मा चीनको एक शोधकर्ताहरुको टिमले पत्ता लगाएको थियो ।
पहिला यो भाइरस सन् २००९ मा हुबेई र हेनान प्रान्तको ग्रामीण भेगमा देखिएको थियो ।
एक रिपोर्टका अनुसार यो भाइरसबाट संक्रमित भएकाहरुमा ३० प्रतिशतको मृत्यु हुन सक्छ । अहिले मृत्युदर १६ देअि ३० सम्म रहेको छ ।
एजेन्सीको सहयोगमा