वीरगञ्ज । पर्सामा कोरोनाभाइरस सङ्क्रमण समुदाय स्तरमा फैलिएसँगै सङ्क्रमित बढ्ने क्रम नरोकिएपछि आइसोलेसनको आभावका कारण सङ्क्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य भएका छन् ।पर्सामा सञ्चालित दुई कोभिड अस्पतालमा आइसोलेसन पर्याप्त नभएपछि सङ्क्रमितहरु आफ्नै होम अथवा पेड होटल आइसोलेसनमा बस्दै आएका छन् ।
सङ्क्रमितहरु होम र पेड आइसोलेसन बस्दा तोकिएको मापदण्ड पूरा नभएको र सङ्क्रमित व्यक्तिहरु स्वयम् पनि असन्तुष्ट भएर घरमा नबसेर बाहिर जाँदा सङ्क्रमण समुदाय थप फैलने भय सृजना भएको छ । यसै समस्यालाई मध्यनजर गर्दै पर्साको स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गरि थप चार स्थानमा सामुदायिक आइसोलेसन सेन्टर निर्माण गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार एउटा सूचना जारी गर्दै वीरगञ्जका चार स्थानमा थप २ सय ८० बेडको सामुदायिक आइसोलेसन सेन्टरको स्थापना गरिएको जनाएको छ ।
‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम हुनेगरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी हाेम आइसोलेसनमा बस्ने सुविधा दिइएकाेमा धेरैजसाे ठाउँमा तोकिएका आधार र मापदण्ड पुरा नभएकाे र संक्रमित व्यक्तिहरू स्वयम् अनुसासित भएर घरमै बस्नुकाे सट्टा घरबाहिर निस्किएर सङ्क्रमण फैलाउने जाेखिम बढेपछि हाेम आइसोलेसनकाे सट्टा सामुदायिक आइसोलेसन सेन्टरकाे माेडललाइ जाेड दिनुपर्ने देखिएपछि आज थप चार वटा आइसोलेसन सेन्टर स्थापना गरिएको,’ उल्लेख छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. ९ घडिअर्वा]स्थित गोपाल मण्डली धर्मशालामा १ सय ११ बेडको, वीरगञ्ज महानगरपालिका वडा नं. १३ चिनीमिल आवास क्षेत्रस्थित सिद्दार्थ माध्यमिक विद्यालयमा ६० बेडको, वीरगञ्ज महानगरपालिका वडा नं. ८ लिंकरोडस्थित होटल रानीपोखरीमा ६० बेडको र वीरगञ्ज महानगरपालिका वडा नं. ६ मेनरोडस्थित राणी सति अतिथि सदन धर्मशालामा ६० बेड गरि २ सय ८० को सामुदायिक आइसोलेसन सेन्टर निर्माण गरिएको पर्साका साहायक प्रमुख जिल्ला अधिकारि ललितकुमार बस्नेतले बताए ।
थपिएका सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने बस्नेतले जानकारी दिए । आइसोलेसन सेन्टरहरुमा स्वास्थ्यकर्मीको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने र स्वास्थ्यकर्मीहरुलाई सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा नेपाल सरकारकाे तर्फबाट उपलब्ध गराइने जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले निर्णय गरेको उनले बताए ।yatradaily