वीरगञ्ज ।पर्सामा १ सय १६ सहित थप १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि |पर्सा र बारा गरेर थप १ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार बारा जिल्लाका १६ सहित पर्साका थप १ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।विभिन्न स्थानमा भएको मास टेस्टिङको नतिजा आउँदा २६ महिलासहित थप १ सय ३३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमितहरु ५ वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका नारायणी अस्पतालले जनाएको छ । बुधबार थपिएका अधिकतम सङ्क्रमित मास टेस्टिङमा स्वाब जम्मा गराएका मध्ये छन् ।
थपिएका सङ्क्रमित मध्ये ७६ जना त्रिजुद्ध माध्यमिक विद्यालयमा भएको मास ट्रेसीङमा परिक्षण गराएका मध्ये रहेका छन् । त्यसैगरि वीरगञ्ज कारागारको मास टेस्टिङ गराएका मध्ये मध्ये ३२ जना रहेका छन् भने वीरगञ्ज चिनीमिलमा मास टेस्टिङ गराएका मध्ये ५ जना रहेका छन् । बारा जिल्लास्थित सिमराको क्वारेन्टिनमा बसेका मध्येपनि १७ जनामा कोरोना संक्रमण देखिएको छ । बाराका संक्रमितहरुको स्वाब सिमरा क्वारेन्टिनबाट संकलन गरेर वीरगञ्ज परीक्षणको लागि आएको थियो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र वडा नम्बर १० का ९/९ जना , वडा नम्बर २७ का ८ जना, वडा नम्बर १५ का ३ जना , वडा नम्बर १ , ८ र ९ का २/२ जना , वडा नम्बर ३ , २५ , २४ , १२ र १३ का १/१ जनामा पनि संक्रमण पुष्टि भएको हो । यस्तै, पर्साकै जगरनाथपुर गाउँपालिका ५ र जिराभवानी गाउँपालिका ३ का १/१ जनामा पनि संक्रमण भेटिएको हो ।क्वारेन्टाइनमा बसेका, कन्टयाक्ट ट्रेसिङमा परेका तथा मास टेस्टिङ र स्वचेच्छाले पैसा तिरेर परीक्षण गराएकाहरु गरी १ सय १६ जनामा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।
पर्सामा हालसम्म एकै दिनमा यति ठूलो संख्यामा संक्रमण भेटिएको यो पहिलो हो । यसअघि गत आइतबार एकै दिन पर्सामा ७३ जनामा संक्रमण भेटिएको थियो । १ सय १६ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७ सय ३० पुगेको जिल्ला स्वास्थय कार्यालय पर्साले जनाएको छ ।
पछिल्लो पटक गरिएको स्वाब संकलनको परीक्षण रिपोर्टमा वीरगञ्ज महानगरपालिकाका वडाध्यक्षहरु, अधिकृत तथा कर्मचारीहरु, नगरप्रमुखका परिवारका सदस्य, वीरगञ्ज कारागारका कैदीबन्दी, संक्रमितहरुको कन्टेक्ट ट्रेसिङ्गमा परेकाहरु, लक्षण देखिएपछि अस्पताल भर्ना रहेका ब्यक्ति र एक जना मृत्यु भइसकेकी १८ वर्षे युवती रहेका छन् ।
श्रावन सुरु भएयता वीरगञ्जमा संक्रमितहरुको संख्या लागातार बढिरहेको छ । ११ दिनदेखि यहाँ निषेधाज्ञा जारी गरी समुदायमा देखिएको कोरोना संक्रमण अझ फैलिन नदिन मास टेस्टिङ र कन्टेक्ट ट्रेसिङको काम भइरहेको छ । तर, संक्रमित भेंटिएकाहरुलाई राख्नको लागि आइसोलेसन नहुँदा धेरै संक्रमितहरु आआफ्नो घरमा सेल्फ आइसोलेसनमा बस्दा समुदायमा संक्रमण बढ्ने क्रममा कमी आउँन सकेको छैन ।कोरोना नियन्त्रण र रोकथामका लागि जिल्लास्थित संयन्त्र र ब्यवस्था अपर्याप्त भएर स्थिती काबु बाहिर जान लागेको आम मानिसको बुझाई छ । यस कारणले वीरगञ्जमा भय र त्रासको माहोल बढ्दो छ ।