वीरगञ्ज । बाराको कलैया अस्पतालका तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालको पोस्टमार्टममा सरसफाइ गर्ने एक व्यक्ति र उनको छोरामा कोरोना पोजेटिभ देखिएको छ भने अर्का एक व्यक्ति अस्पतालले सञ्चालन गरेको औषधि पसलमा काम गर्ने फार्मेसी सहायक रहेको कलैया अस्पतालका डा. वीरेन्द्रकुमार मण्डलले जानकारी दिए ।
सरसफाइ गर्ने कर्मचारीमा शंका लागेपछि उनको स्वाब संकलन गरिएको हो, उनले कलैया अस्पतालमा रहेको आइसोलेसनको समेत सरसफाइ गर्ने गरेको डा. मण्डलको भनाइ छ ।
अस्पतालका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि हाल प्रसूतिबाहेकका अन्य सेवा आजैदेखि बन्द गरिएको छ ।भोलि अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गर्ने र त्यसको नतिजा प्राप्त भएपछि मात्र अस्पतालले दिने सेवा–सुविधाबारे जानकारी गराइने डा. मण्डलले जानकारी दिए ।