टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने भएको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ ।
जापानका आर्थिकमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सत्तारुढ दलका सांसदहरुको एक समूहले मंगलबार भएको एक बैठकमा टिकटकविरुद्धको कदम अगाडि बढाउने निर्णय गरेको छ । आगामी सेप्टेम्बर सम्ममा सो सम्बन्धी प्रस्ताव सरकार समक्ष पेस गर्ने निर्णय सांसदहरुको टोलीले गरेको छ ।
गत महिना भारतले प्रतिबन्ध लगाएसँगै टिकटक आलोचनाको सिकार हुँदै आएको छ । अमेरिकाले समेत टिकटकमाथि बन्देज लगाउने तयारी गरिरहेको बताइएको छ । त्यस्तै अष्ट्रेलिया सरकारले समेत टिकटकमाथि कडा कदम चाल्ने सम्भावना रहेको बताइन्छ ।
उता टिकटकले भने प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने दाबी खारेज गर्दै आउको छ । अहिले सम्म चीन सरकारले प्रयोगकर्ताका डाटा उपलब्ध गराउन आग्रह नगरेको र आग्रह गरिहाले पनि उपलब्ध नगराइने टिकटकले स्पष्ट पारिसकेको छ ।
एजेन्सी