वीरगंज। असार महिनाको पेन्सन साउन २५ गतेभित्र मात्रै आउने भएको छ । प्रायः महिना सकिएको ५ गतेभित्र प्राप्त हुने पेन्सन यस पटक ढिलाइ भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार प्रणाली सुधारको काम हुँदा असार महिनाको पेन्सन दिन समय लागेको हो ।
सरकारसँग पैसा हुँदा-हुँदै पनि प्रविधि सुधारको काम गर्दा असारको पेन्सन दिन केही ढिलाइ भएको महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बताए । पेन्सनका लागि मात्रै वार्षिक करिब ५२ अर्ब रुपैयाँ लाग्ने भएपनि हालसम्म ४० अर्ब रुपैयाँ पैसा निकासा गरिसकेको समेत उनले बताए ।
“असार महिनाको मात्रै केही दिन ढिलाइ भएको हो । हामीले प्रणालीको सुधार गर्दा केही ढिलाइ भएको छ । साउन २५ गतेभित्र पेन्सन रकम निकासा हुन्छ” उनले भने । अर्थ सचिव शिशिर ढुंगानाले पनि अर्थ मन्त्रालयले पेन्सनको पैसा नरोकेको स्पष्ट पारे । “अर्थ मन्त्रालयले पेन्सनको पैसा रोकेको छैन, प्रविधिको विकासको काम भईरहेकाले केही ढिलाइ भएको हुनसक्छ, तर अर्थले पैसा रोकेको छैन” उनले भने ।