वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगंजमा समुदाय स्तरमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणको लागि वीरगंजमा गण्डक कोभिड अस्पताल बाहेक थप दुई अस्पताललाई कोभिड अस्पताल बनाई संक्रमितको उपचार शुरु गर्न निर्देशन दिएको छ।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार मन्त्रालयको कोभिड अस्पताल बनाउने विषयमा पत्र आइसकेकोले अस्पताल आन्तरिक तयारीमा जुटेको छ।
‘मन्त्रालयले स्वीकृति दिइसकेको छ, नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाउने र सय बेडको निजी अस्पताल वीरगंज हेल्थ केयरलाई पनि कोभिड अस्पताल बनाउने विषयमा सम्झौता हुन लागेको छ’, उनले भने, ‘आज संकट व्यवस्थापन केन्द्र पर्सासँग सम्झौता भएपछि आजै साँझबाट हेल्थकेयर कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउने तयारी छ।’
उनले नारायणी अस्पताललाई पनि पुनः कोभिड अस्पताल बनाउने सरकारको निर्देशन अनुसार तयारी शुरु भइसकेको बताए। नारायणी अस्पतालका दक्ष जनशक्तिमध्ये आधा दर्जन डाक्टर र १५ जना स्टाफ नर्स एवं पारामेडिक्स संक्रमित भइसकेको अवस्थामा तीन वटै अस्पतालमा जनशक्ति परिचालन गर्ने वा व्यवस्थापन मिलाउने विषय ठूलो चूनौती देखिएको बताए।
७० बेड क्षमताको गण्डक कोभिड अस्पतालपछि सय बेडको वीरगंज हेल्थ केयर अस्पताल र आवश्यकता परे ३ सय बेडको नारायणी कोभिड अस्पताल बने ४ सय ७० संक्रमितलाई अस्पतालमै राखेर उपचार गर्न सकिने अवस्था बन्ने छ। वीरगंजमा हाल सम्म कोरोनाका कारण ९ जनाको मृत्यु भइसकेको छ।
पर्सामा हाल सम्म ४५८ जना संक्रमित भएकोमा गण्डक कोभिड अस्पतालमा ६० जना संक्रमित उपचाररत छन् भने वीरगंजका केही होटल र होम आइसोलेसनमा गरी करिब १६० संक्रमित अव्यवस्थित रुपमा बसेका छन्।तीन वटा कोभिड अस्पताल बनेपछि घरमा अलपत्र रहेका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्ने कार्य सहज हुने विश्वास लिइएको छ। साउन यता मात्र २५० भन्दा बढि संक्रमितहरु भेटिएका छन्।