बीरगन्ज । बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीमा पनि कोरोना संक्रमण देखिएको छ ।
मेयर सरावगीले बिहीबार साँझ करिब साढे आठ बजे आफ्नो फेसबुक पेज मार्फत आफुमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । उनले जनताको सेवामा अनवरत लाग्दा लाग्दै संक्रमणको चपेटामा परेको बताएका छन् । उपचारार्थ रहेका उनको हाल स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी उनको फेसबुक वालको पोष्टमा छ । साथै, मेयर सरावगीले कोरानालाई छिट्टै जित्ने दृढविश्वास पनि व्यक्त गरेका छन् । यस्तै, कोरोना संक्रमणको लडाई जितेर पुनः सेवामा आउने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् ।
काम बिशेषले काठमाण्डौ गएका महानगर प्रमुखलाई बाटोमा हल्का ज्वारो र घाँटीमा समस्या देखिएको थियो । काठमाण्डौ पुगेर मेडिसीटी अस्पतालमा चेकजाँचकोलागि जाँदा पिसीआर परिक्षण बिना उपचार नहुने भन्दे अस्पतालले फर्काएको थियो । प्रमुख सरावगीले हिजो १४ गते काठमाण्डौमा स्वाब परिक्षणको लागि दिनु भएको थियो ।
यस्तै मेयर सरावगीले पछिल्लो पटक कोरोना संक्रमणबाट बीरगंज आक्रान्त बनेकोमा भएको सर्वपक्षीय प्रयासलाई धन्यवाद दिदैं अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नदेखिएकाले संघीय र प्रदेश सरकारलाई तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गरेका छन् ।
साथै, कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न उनले सम्पूर्ण महानगरबसीलाई अपिल गरेका छन् ।