धर्म शब्दको अर्थ के हो ? धर्म के हो, धर्म कति प्रकारको हुन्छ, हाम्रो धर्म के हो ?यदि सनातन धर्मको ग्रन्थको बारेमा पढ्ने हो भने धर्मको अनेक परिभाषा पाइन्छ । जस्तो महाभारत वनपर्व २०८.९ मा भनिएको छ, ‘स्वकर्मनिरतो यस्तु धर्मः स इति निश्चयः ।’ यसको अर्थ के भने, आफ्नो सत्कर्ममा निरन्तर लागिरहनु नै धर्म हो । फेरी महाभारत शान्तिपर्व १६२.५ मा उल्लेख छ, ‘सत्य धर्मस्तपो योग ः’ अर्थात सत्य नै धर्म हो । यसैगरी महाभारत शान्तिपर्व २५९.१८ मा भनिएको छ, ‘दातव्यमित्ययं धर्म उक्तो भूतहिते रतैः ।’ अर्थात सबै प्राणीको हितमा लाग्नु नै धर्म हो । यस्तो परिभाषा केवल महाभारतमा मात्र होइन, अरु ग्रन्थमा पनि पाइन्छ ।
धर्म शब्दको अर्थ
धर्मको खास अर्थ हो धारण गर्नु । त्यसो भए के धारण गर्ने त ? यसको जवाफ हो, जुन कुरा धारण गर्न योग्य हुन्छ त्यही धारण गर्ने । अब अर्को प्रश्न उठ्छ, धारण गर्नका लागि योग्य के हो त ? जावफ, सत्य, क्षमा, विद्या, दया, दान आनि ।
धर्म के हो ?
जुन कुरा धारण गर्न योग्य, त्यसलाई धारण गर्नु नै धर्म हो । कर्ममा लागिरहनु, उदारता, दण्ड, सत्य, दान, धर्म हो । सत्कर्ममा लाग्नु धर्म हो । उदारता धर्म हो । सत्य धर्म हो । दया धर्म हो । त्याग धर्म हो । परोपराकार धर्म हो । दान धर्म हो । यी गुणहरुलाई धारण गर्नु नै खास धर्म हो ।
हामीले सत्य, क्षमा, विद्या, दया आदिलाई धारण गर्नुपर्छ । असत्य, झुट, क्रोध, हिंसा, लोभ, अज्ञानता, विभेदलाई धारण गर्नु हुँदैन । अर्थात त्यस्ता गुण र व्यवहारलाई धारण गर्नुपर्छ, जसले समग्र जगतको हित गर्छ । भलो गर्छ ।
धर्ममा डर, लोभ, हिंसा, विभेद हुँदैन । जहाँ यस्ता तत्वहरु हुन्छन्, ति धर्म होइनन् ।
त्यसो भए हिन्दु, मुस्लिम, वौद्ध, इसाई, जैन के हो त ? के यी धर्म होइनन् । वास्तवमा यी कुनैपनि धर्म होइनन्, सम्प्रदाय वा समुदाय मात्र हो । ‘सम्प्रदाय’ एक परम्परा वा एक मतमा आस्था राख्नेको समूह हो । त्यसैले यी कुरालाई धर्म मान्नु भ्रम र झुट हो ।
शरीर पंचतत्व मिलेर बनेको हुन्छ । पंचतत्व अर्थात आकाश, पृथ्वी, जल, अग्नी, हावा ) शरीरले यी सबै तत्वलाई आफुमा समेटेको हुन्छ, ग्रहण गरेको हुन्छ । त्यसैले हाम्रो आहार, हाम्रो सोंच–विचार, हाम्रो कर्म पनि त्यस्तै हुनुपर्छ, जो धारण गर्न योग्य होस् । अशुद्ध कर्म, अशुद्ध विचार, अशुद्ध खानपान शरीरका लागि धारण गर्न योग्य हुँदैन । यस्ता कुरा त्यग्नु पर्छ । जुन कुरा धारण गर्न योग्य, छ त्यही धर्म हो । जस्तो कि, प्रेम, सद्भाव, उपकार, सत्कर्म, सकारात्मक चिन्तन, दान आदि ।