बीरगन्ज। बीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आईतबार बिहान मृत्यु भएका ६५ वर्षिय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको अस्पतालका मेसु डा. मदन उपाध्यायले पुष्टि गरे ।
शनिबार राति आरडिटी पोजिटिभ देखिएका उनलाई उपचारका गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो ।
नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचार गर्दागर्दै आइतबार बिहान ६ः४० बजे उनको मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
उनी बीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । कारोना रोगको संक्रमण बढ्न थालेपछि शनिबारदेखि वीरगञ्जमा निषेधाज्ञा लागु गरिएको छ ।यस सँगै काेराेनाबाट मृत्यु भएकाहरूकाे संख्या ४६ पुगेकाे छ ।