वीरगन्ज | वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्यु भएको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्तपताल भर्ना भएका उनको आइतबार बिहान पौने सात बजेतिर मृत्यु भएको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
मुटु र मधुमेहसमेतका बिरामी उनलाई शनिबार राति ८ बजे गण्डक अस्पताल ल्याइएको थियो।भर्ना गर्दा नै उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि हामीले अक्सिजन दियौं। राति स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा पनि राख्यौं। तर बिहान उहाँको निधन भयो,’ डाक्टर सिंहले भने।
अहिले उनको शव अस्पतालमै राखिएको छ। कोरोना परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गर्ने अस्पतालको तयारी छ।मृतक वीरगन्जमै व्यापार गर्दै आएका थिए। केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएको र खोकी पनि लागेका उनी सुरूमा वीरगन्जस्थित नारायणी अस्पताल गएका थिए। उनलाई त्यहाँ आकस्मिक कक्षमा उपचार पनि गरिएको थियो।
उनी नारायणीमा कोरोना परीक्षणको लागि स्वाब दिएर त्यहाँबाट वीरगन्ज हेल्थ केयरमा उपचार गर्ने गए। त्यहाँ आरडिटी परीक्षण गर्दा कोरोनाको एन्डिबडी पोजेटिभ देखिएपछि उनलाई गण्डकमा भर्ना गरिएको थियो।गएको सातायता मात्र गण्डकमै तीन जना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो। जसमा दुई महिला र एक पुरुष छन्।