वीरगञ्ज। भारतमा कोरोनाभाइरस संक्रमित उपचाररत १४ वर्षीया बालिकाको बलात्कार भएको छ। कोरोना संक्रमण भएर भारतको सबैभन्दा ठुलो कोरोना उपचार केन्द्र सरदार पटेल कोभिड केयर सेन्टरमा उपचार गरिरहेकी १४ वर्षीय बालिकालाई बलात्कार भएको भारतीय प्रहरीले पुष्टि गरेको छ। प्रहरीकाअनुसार बलात्कार गर्ने १९ वर्षीय किशोर रहेका छन्।
उनी पनि यस कोभिड केयर सेन्टरमा कोरोनाको उपचार गरिरहेका थिए। भारतीय समाचार टाइम्स अफ इण्डियाका अनुसार उक्त किशोरले जुलाई १५को राति बाथरुम नजिक बालिकासँग कुरा गरेका थिए। कुराकानी गरेपश्चात उनले आफ्नो २० वर्षीय साथीलाई बाथरुम अगाडि उभियार आफुले अपराध गरेको बताएका छन् ।
दर्दनाक घटनापछि बालिका चुपचाप सुत्न गएकी थिइन्, तर पछि उनले घटनाकोबारेमा आफ्ना साथीहरूलाई सुनाइन् ।यसपछि उनका साथीहरुले केन्द्रका चिकित्सकहरूलाई खबर गरेका थिए। केन्द्रको व्यवस्थापनको ध्यानाकर्षण भएपछि प्रहरीलाई बोलाइएको थियो। स्थानीय मिडिया रिपोर्ट अनुसार आरोपीका साथीले उक्त घटनाको भिडियो समेत बनाएका थिए। अहिले दुबै साथीलाई प्रहरीले पक्राउ गरेको छ ।