वीरगंज | सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेपछि विश्वविद्यालयहरूले पनि परीक्षाको तयारी अघि बढाएका छन् । त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए ।
चिकित्सा शिक्षा अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानले परीक्षाको गृहकार्य सुरु गरेका छन् । लकडाउन सुरु भएपछि त्रिविका सञ्चालन भइरहेका परीक्षासमेत रोकिएका थिए । इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ७ देखि परीक्षा सञ्चालन गर्ने भएको छ । डिन कार्यालयले विज्ञप्ति प्रकाशित गरेर स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने जनाएको हो ।
विश्वविद्यालय अनुदान आयोगले पनि परम्परागत विधि वा वैकिल्पक विधिबाट परीक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । त्रिविको परीक्षा सुधार समितिले परम्परागत विधिबाट सम्भव नभए वैकल्पिक विधिबाट परीक्षा गर्न सुझाव दिएको छ । त्रिविले आफ्ना मातहतका सबै निकाय, क्याम्पस र विभाग सञ्चालन गर्न सर्कुलर गरेको छ ।
अन्य १० वटै विश्वविद्यालयले पनि पठनपाठन बन्द रहे पनि अन्य प्रशासनिकलगायतका गतिविधि सुचारु गर्न थालेका छन् । लकडाउन अन्त्य भएकाले परम्परागत विधिबाट स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने त्रिविका पदाधिकारीले बताएका छन् ।