वीरगञ्ज । पर्सामा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएको आशङ्का उत्पन्न भएपछी स्थानीयहरु त्रसित बनेका छन् । छिल्लो २ दिनमा सङ्क्रमितहरुको सङ्ख्यामा ह्वातै वृद्धि भएसँगै एक जनाको मृत्यु भएपछी स्थानीयहरु त्रसित भएका हुन् ।ट्राभल हिस्ट्री नभएको र लक्षणसमेत भएका सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएपछी सङ्क्रमण समुदायस्तरमा फैलिएको आशङ्का उत्पन्न भएको थियो ।
बिहिबार थपिएका १७ नयाँ सङ्क्रमित मध्ये केही चिकित्सक, उद्योगमा कार्यरत कर्मचारी, अस्पतालमा उपचाररत विरामी र विद्यार्थी समेत रहेकोले सङ्क्रमण समुदायस्तरमा फैलिएको शङ्कालाई थप बल पाएको हो ।समुदाय स्तरमा कोरोना फैलिएको शङ्का उत्पन्न भएसँगै जनस्तरबाट जिल्लामा पुन: निषेधाज्ञा लागु गर्दै पिसीआर परिक्षणको दायरा बढाउँन पर्ने माग आएको छ ।भेटिएका सङ्क्रमितहरुको कन्ट्याक्ट सिङलाई तिब्र बनाउँदै परिक्षणको दायरा बढाउँनु पर्ने पर्साका सांसद्द्वय प्रदीप यादव, हरिनारायण रौनियार र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलगायतका जनप्रतिनिधिले समेत माग गरेका छन् ।
यता निषेधाज्ञा लगाउँने वा नलगाउँने बारे शुक्रबार बैठकबाट मात्र निर्णय गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका साहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भोली सर्वपक्षीय बैठकबाट निषेधाज्ञा बारे निर्णय गरिने बताए । केन्द्र सरकारले निषेधाज्ञा बारे कुनै निर्णय नगरेको हुँदा सहमतीको आधारमा निर्णय गरिने उनले जनाए ।शुक्रबार ११ बजेका लागि बाेलाइएकाे बैठकमा निषेधाज्ञा बारे निर्णायक छलफल हुने उनले भने ।