वीरगंज। निर्देशक दीपेन्द्र के खनालले कोरोनाको जोखिम अन्त्य भएर सिनेमा हल खोलेपछि दर्शकको भीड लाग्ने बताएका छन् । सिनेमा हल खुलेपछि दोब्बर विजनेस हुने उनको भनाइ छ । अधिकांश निर्माता तथा निर्देशकहरुले चलचित्रको ब्यापार पहिलाकै अवस्थामा फर्किन कम्तिमा एकवर्ष लाग्ने बताइरहेका बेला दीपेन्द्रले फरक धारणा राखेका हुन् ।
लामो समय हलमा गएर चलचित्र हेर्न नपाएको अवस्था र मनोरञ्जनका अन्य साधन नरहेको अवस्थामा हलमा दर्शकको आकर्षण देखिने उनको भनाइ छ । “सिनेमा हल लामो समयदेखि खुलेका छैनन् । दर्शकलाई मनोरञ्जनको विकल्प त्यति धेरै छैन,” उनी भन्छन्, “अन्य देशमा जस्तो मनोरञ्जनका लागि घुम्ने ठाउँ पनि नेपालमा छैन, त्यसैले पनि हलको विकल्प छैन भन्ने मेरो धारणा हो ।
”कोरोना भाइरसको उत्पति भएको राष्ट्र चीनमा सिनेमा हल खुल्न बित्तिकै त्यहाँ देखिएको दर्शकको उत्साहजनक भीडले पनि त्यो संकेत गरेको उनको भनाइ छ । चीनमा हालै मात्रै सुरक्षा सतर्कता अपनाउँदै सिनेमा हल खुलेका छन् । सिनेमा हल खुल्न बित्तिकै दर्शकको ठूलो उपस्थिति देखिएको छ ।
यद्यपि चलचित्र भने राम्रो हुनु पर्ने निर्देशक दीपेन्द्र के खनालको भनाइ छ । नेपालमा चैत ६ गतेबाट चलचित्र घरहरु बन्द हुँदा दुई दर्जन चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । डेढ दर्जन चलचित्रमा एक अर्ब १५ करोड लगानी छ । देशभर ९५ मल्टिप्लेक्ससहित करिब दुईसय सिनेमा घर छन् ।