वीरगञ्ज । वीरगञ्जको पानीट्याङ्किस्थित माट्रिका आई फाउण्डेशनले सेवाग्राहीको स्वास्थ्यसँग खेलवाड गरेको पाइएको छ । फाउण्डेशनको लापरवाहीका कारण वीरगञ्जका एक युवकले अस्थायी रूपमा आफ्नो आँखाको ज्योति गुमाउँनु परेको छ ।फाउण्डेशनले गरेको लापरवाहीका कारण वीरगञ्ज महानगरपालिका-११ का १७ वर्षीय विवेक गुप्ताले अस्थायी रूपमा आफ्नो आँखाको ज्योति गुमाएका हुन् । आँखामा सामान्य समस्या आएपछि माट्रिका आई फाउण्डेशन उपचार गराउँन पुगेका गुप्तालाई फाउण्डेशनले उपलब्ध गराएको गलत औषधीका कारण उनले अस्थायी रूपमा आफ्नो आँखाको ज्योति गुमाएका छन् ।
फाउण्डेसनमा कार्यरत डाक्टर सुरेश चौधरीले गुप्ताको आँखामा सामान्य समस्या आएको भन्दै डिसिप्याट र लुविजेस्ट औषधी सिफारिस गरेका थिए । तर, फाउण्डेशनद्वारा नै सञ्चालित फार्मेसीले दिएको गलत औषधी प्रयोग गर्दा गुप्ताको आँखालाई आँखा देख्न छोड्यो ।फार्मेसीले डिसिप्याटको सट्ट डिसिपिन र लुविजेस्टको सट्टा लुबटेयर दिएपछि आँखामा सामान्य समस्या भएर पुगेका गुप्ता आँखा नदेख्ने समस्या बोक्न बाध्य भएका छन् । फाउण्डेशनले दिएको औषधी प्रयोग गर्नासाथ आफ्नो देख्ने शक्ति धमिलो भएको बताउँदै गुप्ताले दु:ख व्यक्त गरे । प्रेसक्रिप्सनमा औषधीको नाम सहि लेखेपनि फार्मेसीको लापरवाहीका कारण गुप्तालाई समस्या परेको हो ।
फाउण्डेशनले दिएको औषधीले आँखाको समस्या समाधान हुनुको सट्टा झनै समस्या भएपछि तत्काल अस्पताल आएर जानकारी गराउँदा फाउण्डेशनको प्रशासनले आफुलाई उल्टै धम्कि दिएको उनले बताए । फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले आफ्नो दिदीलाई धम्क्याएर पठाएको गुप्ताले आरोप लगाएका छन् ।
धामीले गुप्ताको दिदीलाई औषधी दिँदा कहिलेकहीँ फरक पर्नु सामान्य विषय भएको र अर्को औषधी प्रयोग गर्दा आँखामा उत्पन्न भएको समस्या समाधान हुने बताउँदै धेरै हल्ला नगर्न भनेर धम्क्याएका थिए । फाउण्डेशनले सिफारिस गरेको औषधी अन्य स्थानमा उपलब्ध नहुँदा सेवाग्राही चर्को शुल्क तिरेर फाउण्डेशनद्वारा नै सञ्चालित फार्मेसीबाट औषधी किन्न बाध्य छन् ।
देख्ने संसार भनेकै आँखा रहेको र आँखाकै उपचार गर्न जाँदा आँखाको उपचारका लागि खुलेको माट्रिका आई फाउण्डेसनले गरेको चरम लापरवाही गर्ने गरेको घटना बाहिरिन थालेको छ ।फाउण्डेशनले आफूले दिएको औषधीले आँखामा सिमित समयका लागि प्रभाव पार्ने भएपनि अन्य कुनै असर नगर्ने धामी बताउँछन् । फार्मेसीमा रहेका आफ्ना कर्मचारीले गल्ति गरेको भएपनि औषधीले आँखामा दीर्घकालिन असर नगर्ने उनको दावी छ ।तर, आँखा विशेषज्ञहरुले भने माट्रिका आई फाउण्डेसनले दिएको औषधिले आँखाको दृष्टिमा नराम्रो असर गर्ने सक्ने र आँखाको ज्योति सधैका लागि समेत गुम्न सक्ने बताएका छन् ।yatradaily