वीरगञ्ज । जिल्ला प्रहरी कार्यालयको अपराध शाखाले नलकटुवा बन्दूकसहित विन्दवासिनी गाउँपालिका–५ भेलाहा टोल निवासी गजारी साहलाई पक्राउ गरेको छ।बुधवार बिहान ११ बजे साहको बन्द रहेको कुखुरा फार्ममा नलकटुवा बन्दूक फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । तर स्थानीयहरुले प्रहरीले साहलाई फसाएको आरोप लगाएका छन् ।
घरपरिवारसहित टोलछिमेकले साहलाई फसाएको भनेर दिउँसो १२ बजेदेखि प्रहरी चौकी प्रसौनीमा घेराउ गरेका थिए । साहलाई अपराध शाखाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ ।घेराउ गर्नेहरूले बन्द रहेको कुखुरा फार्ममा हतियार राखेर फसाउन खोजिएको आरोप लगाएका छन् । उनीहरूले गाउँपालिका र वडापालिकाबाट हुने विकास निर्माणका काममा साहले अनियमितताको पोल खोल्दै आएको कारण उनलाई फसाइएको बताएका छन् ।
प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले हतियार बरामद भएपछि साहलाई पक्राउ गरिएको र यसबारे अनुसन्धान भइरहेको बताए । उनले कसूर प्रमाणित भएपछि मात्र सो अनुसारको मुुद्दा चलाइने बताएका छन् ।यसैगरी, प्रहरीले विन्दवासिनी गाउँपालिका–५ भेलाही टोलका परदेशी मुखिया बिनलाई यातायात कार्यालयमा किर्ते कागजपत्र बनाएको कसूरमा पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक कुँवरले यातायात व्यवस्था कार्यालयमा सवारीधनी पुर्जा किर्ते बनाएको कसूरमा निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताएका छन् ।