वीरगंज । सरकारले मंगलबार रातिबाट लकडाउन अन्त्य गरे पनि सिनेमा हल भने नखोल्ने निर्णय गरेको छ । चलचित्र विकास वोर्डले सञ्चार मन्त्रालयमार्फत पटक पटक सिनेमा हल खोल्न र छायांकनका लागि अनुमति दिन आग्रह गरे पनि सरकारले उक्त माग संबोधन नगरेको हो ।
चलचित्र विकास बोर्डले प्रोटोकल जारी गरेर चलचित्र छायांकनका लागि अनुमति दिन आग्रह गरेको थियो । बोर्डका अध्यक्ष दयाराम दाहालले सञ्चार मन्त्रालयले माग संबोधन गर्नेमा आफू विश्वस्थ रहेको बताएका थिए । उनले केही दिन अगाडि बाह्रखरीसँगको कुराकानीमा भनेका थिए, “छायांकनमा जानेबारे अब बस्ने कोभिड—१९ क्राइसिस म्यानेजमेन्टको बैठकले हाम्रो मागअनुसार निर्णय पक्कै गर्नेछ । सञ्चार मन्त्रालयका सचिवहरूसँग भएको कुराअनुसार सुरक्षा सतर्कता अपनाउँदै छायांकनमा जान दिइनेछ अब ।”
उनले बोर्डले निर्माण, वितरण तथा प्रदर्शनको मोडालिटी सरकारलाई बुझाएको र सोही अनुसार सिनेमा हल खोल्ने विषयमा पनि अध्ययन भइरहेको बताएका थिए । तर होटल, तथा एयरलाइन्स खोल्ने निर्णय गरेको सरकारले सिनेमा हल र छायांकनमा जान दिएन ।
चलचित्रकर्मीहरुले ५० अथवा ३३ प्रतिशत मात्रै सिट बेचेर सिनेमा हल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए ।
निर्माता संघका अनुसार २५ वटा चलचित्र रिलिजको तयारीमा छन् भने छायांकन र पोस्ट प्रोडक्सनमा पुगेर त्यति नै चलचित्र रोकिएका छन् । आठवटा चलचित्र छायांकनमा जाने तयारीमा रहेको संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।
लकडाउनका कारण एक अर्ब १५ करोडका चलचित्र थन्किएका छन् । कोरोनाका कारण सिनेमा क्षेत्र बन्द हुँदा करिब ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । मल्टिप्लेक्स र सिंगल थिएटर गरेर करिब १२ अर्बका सिनेमा घर बन्द छन् ।