विरगंज । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलवार राती १२ बजे पछि लकडाउन अन्त्य हुने नेपाल सरकारले निर्णय गरेको छ ।
लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले संचारकर्मीलाई बताउनुभयो ।
भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ । यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रीपरिषद्ले बिद्यालयमा बिधार्थी खुल्ला गर्ने निर्णय गरेको छ । भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेका हो ।
यस्तै साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रकिङ व्यवसाय खुल्ने भएका छन् । तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ ।
सेमिनार ,बैठक,ब्युटी पार्लर,हेल्थ क्लब,सैलुन,धार्मिक स्थल सञ्चालन गर्न भने अझै रोका रहने छ तथा खुल्ला भएको क्षेत्रहरु संक्रमण बढ्यो भने जुनसुकै वेला सरकारले अवश्यता हेरी बन्द गर्न सक्ने निर्णय भएको मन्त्री खतिवडाले बताउनुसभयो ।
खुला गरिएका सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने तथा त्यसको अनुगमनमा पनि कडाई गर्ने सरकारले भनेको छ ।