वीरगंज | देशकै ठूलो फलाम भण्डार रहेको अनुमान गरिएको नवलपरासीको धौवादीको गर्तबाट फलाम उत्खनन् गर्न मिल्ने वा नमिल्नेबारे निर्क्यौल गर्न प्रक्रिया शुरू गरिएको छ।धौवादी आइरन कम्पनीले यो फलाम खानीको परीक्षणको प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले जमीनमुनि रहेको चट्टान ड्रिलिङ गरेर फलामको मात्रा परीक्षण गर्न योग्य कम्पनीसँग आइतबार प्रस्ताव आह्वान गरेको छ । “कम्पनी छनोट गरेर असोजदेखि ड्रिलिङ गरेर फलामको परीक्षणको काम शुरु गर्छौं”, कम्पनीका निर्देशक नारायण बाँस्कोटाले बताए।
जमीनभित्र करीब ३०० मिटरसम्म खोतलेर चट्टानको नमूना परीक्षण गर्ने कम्पनीको योजना छ । यो परीक्षणले उक्त क्षेत्रमा रहेको चट्टानमा फलामको मात्रा कति छ र गुणस्तर कस्तो छ भन्ने विस्तृत जानकारी दिन्छ । यस्तो जानकारी आएपछि खानी खोतल्न कस्तो मेशिन जडान गर्ने, बिजुली र यातायातको व्यवस्था कसरी गर्ने, उत्पादन कसरी र कति परिमाणमा गर्न सकिन्छ भन्ने प्रश्नको यकिन जवाफ पाइनेछ।
खानी तथा भूगर्भ विभागले जमीनको सतहमा रहेका चट्टानमा फलामको मात्रा परीक्षणको काम यसअघि नै अगाडि बढाइसकेको छ । चीनको छन्तुस्थित साउथ वेस्ट मेटालर्जिकल सेन्टरमा ५ हजार किलो चट्टानको औद्योगिक परीक्षण भइरहेको छ । गएको भदौमा विभागले चट्टान परीक्षणका लागि छन्तु पठाएको थियो । यसको परीक्षण नतिजा यसअघि नै आउनुपर्नेमा कोरोनाभाइरस महामारीका कारण प्रतिवेदन आउन केही ढिला भएको छ । “सम्भवतः एक महीनाभित्रै परीक्षणको नतिजा आउँछ”, बाँस्कोटाले भने, “यसले चट्टानमा फलाम कति छ भन्ने गुणस्तरको एउटा चित्र दिन्छ।”
छन्तुको परीक्षणले जमीनको सतहमा रहेको चट्टानमा फलामको मात्रा यकिन गर्ने भए पनि जमीनमुनि रहेको चट्टानमा फलाम कति छ भन्ने थाहा पाउन ड्रिलिङ गरेर हेर्नुपर्छ । परीक्षण गर्ने कम्पनीले ३०० मिटरभित्रसम्मको चट्टान खोतलेर जाँच्नेछ।
यसअघि, खानी विभागले २०७५ सालमा छन्तुकै सोही सेन्टरमा धौवादीबाट निकालिएको करीब १ हजार ३०० किलो चट्टानको परीक्षण गराएको थियो । उक्त प्रारम्भिक परीक्षणले चट्टानमा फलामको धाउ (कच्चा फलाम) को मात्रा करीब ३५ प्रतिशत देखाएको बाँस्कोटा बताउँछन् । यो धेरै गुणस्तरीय फलाम होइन।
भारतमा फलामको धाउको मात्रा ५५ प्रतिशतभन्दा धेरै भएको खानीको मात्र उत्खनन् भइरहेको छ । जबकि, चीनमा भने ३० प्रतिशत मात्रै धाउ भएको फलामको खानी पनि उत्खनन् भइरहेको बाँस्कोटा बताउँछन् । यसको अर्थ, राम्रो प्रविधिको प्रयोग गर्न सक्दा उक्त फलाम खानी उत्खनन्योग्य हुनसक्छ । “धौवादीमा भएको फलामलाई थप एक तह प्रशोधन (स्तरोन्नति) गर्नुपर्ने देखिएको छ, तर त्यसो गर्दा आर्थिक लागतका हिसाबले महँगो–सस्तो के पर्छ भनी छुट्टै अध्ययन पनि गर्छौं”, उनले भने।
करीब एक दशकअघि कोइला र अन्य खनिजको अध्ययन गर्न धौबादी पुगेको विभागको टोलीले एकै ठाउँमा ठूलो फलाम भण्डार फेला पारेको थियो । प्रारम्भिक अध्ययनमा करीब १० किलोमिटर लम्बाइ र २० मिटर चौडाइ क्षेत्रफलमा फलाम मिश्रित चट्टान रहेको देखिएको थियो, जसले वर्षौंको नेपालको फलामको माग पूरा गर्न सक्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष चासोपछि सरकारले धौवादी फलाम कम्पनी नै बनाएर काम अघि बढाएको छ । रु. १० अर्बको कम्पनीमा ५५ प्रतिशत नेपाल सरकारको स्वामित्व र ४५ प्रतिशत निजी क्षेत्रको लगानी रहने प्रस्ताव छ।
धौवादीमा फलामको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएपछि निजी कम्पनीहरू पनि उक्त खानीको उत्खनन् र अन्वेषणमा इच्छुक देखिएका छन् । नेपालमा ठूलो परिमाणमा फलामे छड उत्पादन गरिरहेको जगदम्बा स्टिल्सले यहाँको फलाम खानीको अन्वेषण र उत्खनन्मा आफू इच्छुक रहेको भन्दै खानी विभागलाई पत्र लेखिसकेको छ।