वीरगञ्ज । भारतमा कोरोना भाइरस फैलाएको आरोपमा नियन्त्रणमा राखिएका ३३ जना नेपाली स्वदेश फर्किएका छन् ।कोरोना भाइरसको संक्रमण फैलिनुभन्दा अगाडी नै धार्मिक सम्मेलनमा भारतको निजामोदिन पुगेका बारा, पर्सा, रौतहट, उदयपुर, गोर्खा, पोखरा लगायतका ३३ जनालाई भारतमा कोरोना भाइरस फैलाएको भन्दै नियन्त्रणमा लिएको थियो ।
१४ दिनसम्म क्वारेन्टाईनमा राख्नुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका विपरित ३ पटकसम्म कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आउँदा समेत उनिहरुलाई ६६ दिनसम्म नेराला अपार्टमेन्टको क्वारेन्टाईनमा राखिएको थियो ।
परराष्ट्र मन्त्रालय, मुस्लिम संगठन नेपाल लगायतको पहलमा उनिहरुलाई सकुशल स्वदेश फर्काउन सफल भएको मुस्लिम संगठन पर्साका अध्यक्ष जफर अन्सारीले बताउनुभयो ।
आईतवार स्वदेश फर्किएका उनिहरुलाई बारा तथा पर्साका मुस्लिम अगुवाहरुले खादा लगाएर नेपाल भारतको सिमा शंकराचार्य गेटमा स्वागत गरेको संगठनका बारा अध्यक्ष आबिद हुसैनले बताउनुभयो । संघका केन्द्रिय सचिवालय सदस्य राज खाण, वीरगञ्जका महमद अब्बास लगायतले उनिहरुलाई खादा ओढाएर स्वागत गरेका हुन् ।
३३ जना मध्ये जमाति, निजामोदिनमा अध्ययनरत विद्यार्थि समेत रहेको संगठनले जनाएको छ ।