भारतद्वारा सीमा क्षेत्रमा निर्माण गरिएका बाँधका कारण नेपाली भूमि डुबानमा परेपछि भारतसँग नेपाल बार्ता गर्न तयार रहेको छ ।ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले आज (शुक्रबार) मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी निर्देशन दिएका हुन् ।
उनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल-भारत संयुक्त समिति (जेसीआइएफएम) को बैठक तत्काल डाकेर भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिए ।
दुवै देशका सह-सचिव रहने गरी उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्ने पनि बताएका छन् । उनले भने,‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ, समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक डाक्नुस् ।’
वर्षातको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिएका छन् ।
उनले भने,‘बाढी, पहिरो र डुबानका कारण मानवीय र अरु क्षति नहोओस् भन्नेमा सचेत भएर काम गर्नुस्, यदि अकल्पनीय अवस्था आएमा जनशक्ति र साधनश्रोतको कमी नहोओस् ।’ उनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधान श्रोतको कुनै कमी हुन नदिने स्पष्ट परेका छन् ।
उनले आपतकालीन अवस्थामा मन्त्रिपरिषदबाट निर्णय गरेर भए पनि उद्दार तथा प्रकोप रोकथाममा लाग्न कर्मचारीलाई आग्रह गरेका हुन् ।
बाढी पहिरोको अवस्थाबारे जिल्लास्थित मन्त्रालय अन्तर्गतका निकायहरुबाट सुचना संकलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि निर्देशन दिएका छन् । नियमित कार्यतालिका अनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बरमा बस्छ ।
सिंचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठका अनुसार,‘नियमित बैठक नोभेम्बरमा बस्ने हो, मन्त्रीज्यूबाट निर्देशन भएअनुसार हामी तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्छौ ।’
उनले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको बताएका छन् । छलफलमा सचिव श्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उप-महानिर्देशक प्रदीप थापालगायतले बाढी, पहिरो र डुबानको अवस्थाकाबारेमा मन्त्री पुनलाई अवगत गराएका थिए ।