वीरगंज | नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ६ हजारमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ६ हजार ५६ मा झरेको हो। पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेका छन्। कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या ११ हजार दुई सय ४९ पुगेको छ। यो कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा चार हजार ९ सय ८१ जनाको पीसीआर विधिबाट भएको नमुना परीक्षणमा १६७ जनाको मात्र रिपोर्ट पोजिटिभ आएको छ। पीसीआर विधिबाट अहिलेसम्म नमुना परीक्षण भएकाको संख्या तीन लाख तीन हजार ८ सय १० पुगेको छ। जसमध्ये संक्रमण पुष्टि भएकाको संख्या भने १७ हजार तीन सय ४४ छ।
कुन प्रदेशमा कति संक्रमित ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ८११ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ७४४ जना डिस्चार्ज भएका छन् भने ६७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाका कारण कसैको ज्यान नगएको प्रदेश १ मात्र हो। अहिले क्वारेन्टाइनमा दुई हजार ९ सय १४ छन्।त्यसैगरी प्रदेश २ मा चार हजार ४५८ मा कोरोना पुष्टि भएको छ। जसमध्ये २५ सय ३८ जना डिस्चार्ज भएका छन्। १९ सय १५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएको प्रदेश २ का क्वारेन्टाइनमा दुई हजार ६७३ जना छन्।
सँगै बागमती प्रदेशमा ६३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ४०६ जना डिस्चार्ज भएका छन्। ४२८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। केन्द्रीय राजधानी काठमाडौंसमेत भएको यो प्रदेशमा ९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। क्वारेन्टाइनमा १७ सय ६५ जनालाई राखिएको छ।
त्यसैगरी गण्डकी पद्रेशमा १३ सय २५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ९३५ जनाको डिस्चार्ज भएको छ भने ३८५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। यो प्रदेशमा कोरोनाले पाँच जनाको ज्यान लिएको छ।सँगै प्रदेश ५ मा चार हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जहाँ ३५ सय ३७ जना डिस्चार्ज भएका छन् भने ५५८ संक्रमितको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइराखेको छ। चार हजार २२८ जना आइसोलेसनमा राखेको प्रदेश ५ मा १० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
त्यैगरी कर्णाली प्रदेशमा १८ सय २ जनामा कोरोना पुष्टि भएको छ।
१४ सय ७९ जना डिस्चार्ज भएको यो प्रदेशमा ३१९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। चार जनाले कोरोनाकै कारण ज्यान गुमाएको यो प्रदेशमा १७ सय ७१ जना क्वारेन्टाइनमा छन्।सँगै सुदूरपश्चिम प्रदेशमा चार हजारमा कोरोना पुष्टि भएको छ। जसमध्ये १६ सय १० जना डिस्चार्ज भएका छन् भने २३ सय ८४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। चार जनाले कोरोनाकै कारण ज्यान गुमाएको यो प्रदेशमा तीन हजार ३३१२ जना क्वारेन्टाइनमा छन्।
७७ जिल्लामै कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा भने केही जिल्लामा कोरोनाका नयाँ बिरामी भेटिएका छैनन्। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पाँच जिल्लामा संक्रमण शून्यमा झरेको हो।अहिलेसम्म प्रदेश १ का भोजपुर र संखुवासभा, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र कर्णाली प्रदेशको हुम्ला जिल्लामा पछिल्ला दिनमा संक्रमण शून्य भएको हो। मन्त्रालयका अनुसार पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा छन्। कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या भने ३९ पुगेको छ।