वीरगंज। सरकारले वैधता दिएको नेटवर्किङ व्यवसायमा पूर्वप्रहरीदेखि महान्यायाधिवक्तासम्मको संलग्नता रहेको पाइएको छ । विगतमा हजारौं सर्वसाधारण ठगिएको उक्त धन्दामा गैरआवासीय नेपाली (एनआरएन) र राजनीतिक दलका नेताको समेत साथ रहेको भेटिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट असार १७ मा इजाजतपत्र पाएको नेचर हर्ब्स इन्टरनेसनलमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छवि जोशी उपाध्यक्ष छन् । जोशीले जेठ १४ मा उपाध्यक्ष पद सम्हालेको हर्ब्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यति मात्र होइन, कम्पनीले साताअघि सार्वजनिक गरेको ग्लोबल प्लान कार्यक्रममा जोशी पनि उपस्थित थिए । ‘एक उत्कृष्ट प्लेटफर्मको खोजीमा थिएँ । अहिले सन्तुष्ट छु । धेरै समयपछि कानुन आयो । सबैको सपना साकार हुने भएकाले आबद्ध भएको छु,’ गुरुपूर्णिमाका दिन नेचर हर्ब्सले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘कोभिड–१९ बाट रोजगारी गुमाएका र विदेशबाट फर्केका लाखौंलाई हामीले रोजगारी दिन सक्छौं ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।