म्याग्दी । बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, गुइँठेभिरबाट कालीगण्डकीमा खसेर मंगलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइँठेबाट घारतर्फ जाँदै गरेको बा.२ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।
टिपरसहित चालक म्याग्दीको मंगला गाउँपालिका ५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए । साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो । सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।
यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी-जोमसोम सडक फेरि अवरुद्ध भएको छ । यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सीधा यातायात बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ । -रासस
सांकेतिक तस्बिर ।