एजेन्सी । कोरोना भाइरस संक्रमण निको भएपछि पनि फेरि संक्रमण हुने आशंका रहिरहन्छ । एक अध्ययनले पनि कोरोना संक्रमणबाट निको भएपछि पनि शरीरमा भाइरसलाई लिएर इम्युनिटी अत्यन्तै थोरै समयका लागि रहने देखाएको छ ।
किंग्स कलेज लन्डनका वैज्ञानिक कोरोना भाइरसका विषयमा शरीरले कसरी एन्टिबडी बनाउँछ, एन्टिबडी कति साता अथवा महिनासम्म रहन्छ भन्ने बारेमा अध्ययन गरिरहेका छन् ।अध्ययनमा समावेश सबै ९६ मानिसमा कोरोना भाइरस रोक्न सक्षम एन्टिबडी पाइएको छ । तर, तीन महिनाका दौरान एन्टिबडीको स्तर कम हुन लागेको बताइएको छ ।
यद्यपि, एन्टिबडीको स्तर कम हुँदा त्यही भाइरसको चपेटामा आउने सम्भावनाका बारेमा भने स्पष्ट हुन सकेको छैन । ‘कमन फ्लू’ लगायतमा पनि इम्युनिटी कम समयसम्म रहन सक्छ । यस्तो अवस्थामा उही भाइरसको चपेटा आउने सम्भावना भने रहिरहन्छ ।
अध्ययनले कैयौं पटक शरीरमा मौजुद एन्टिबडीलाई मापन गर्न नसकिने देखाएको छ । यसको अर्थ शरीरमा इम्युनिटी छैन भन्ने पनि होइन । किनकि केवल एन्टिबडीले मात्रै शरीर सुरक्षित राख्दैन । शरीरले बाह्य भाइरसहरुसँग लड्नका लागि ‘टी’ कोशिकाहरु पनि बनाउँदछ । –बीबीसी