पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । उपत्यकामा मात्र ३४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोरोना परीक्षण गर्न आउनेको भीड बढेको छ । उपत्यकाको संक्रमणको अवस्था र अस्पतालको व्यवस्थापन विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानी :
अरू जिल्लाका तुलनामा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्नुको कारण के होला ?
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्नुका कारण बाहिरी जिल्लाबाट मानिसहरू आउने क्रम पनि बढेको छ । यस्तै बिरामी भएर उपचारका लागि विभिन्न जिल्लाबाट आउने, विदेशबाट आउने मानिस बढेसँगै उपत्यकामा पनि कोरोना संक्रमण बढेको हो ।
विदेशबाट उद्धार गरी ल्याएका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएको छ । विदेशबाट आउने कतिपयले परीक्षण नगरीकनै आएका छन् । तर केहीले पीसीआर तथा आरडीटी भने गरेर आएका छन् । कुवेत, दुबई, मलेसिया, साउदी अरबबाट परीक्षण नगरी आउनेहरू अधिक छन् । यिनै मुलुकबाट आउनेमा कोरोना संक्रमण देखिएको छ । साथै उनीहरूले विभिन्न रोगको औषधिसमेत सेवन गरेको पाइएको छ ।
अर्को कुरा उनीहरूको ट्राभल हिस्ट्री पनि छैन । ती व्यक्ति कहीं न कहीं त पक्कै गएको हुन्छ । कोही अस्पताल गएको होला, कोही तरकारी बजार गएको होला । अस्पताल, तरकारीबजार कोरोनाको स्रोत मान्न सकिन्छ । यस्ता हिस्ट्रीलाई राम्रोसँग हेरेर ट्रेसिङ प्रभावकारी गर्नुपर्ने देखिन्छ । अन्य जिल्लामा घट्नुका कारण भारतबाट आएर क्वारेन्टिनमा बस्नेको संख्या घटेर नै हो ।
टेकु अस्पतालले नेपालमा देखिएको पहिलो कोरोना संक्रमितको उपचार गरेको थियो । ती व्यक्तिमा र पछिल्लो समय कोरोना संक्रमितमा देखिएका लक्षणमा के फरक छन् ?
नेपालमा पहिलोपटक कोरोना संक्रमण चीनबाट आएका व्यक्तिमा देखिएको थियो । ती व्यक्तिमा खोकी श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । तर पछिल्लो समयमा विभिन्न देशबाट आएका व्यक्तिमा वा यहींकै कोरोना संक्रमण देखिएका व्यक्तिमा खोकी बढी देखिन्छ । भने कतिपयलाई स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने, दिक्क लाग्ने र थकाइ बढी लाग्ने गरेको देखिन्छ ।
उपचारका लागि अस्पताल भर्ना भएका संक्रमितका स्वास्थ्ययमा कस्ता समस्या देखिएका छन् ?
अस्पतालमा भर्ना भएका बिरामीहरूमा कोरोनाको लक्षण देखिएको छ । ९८ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छैन । दुई साताअघि गरिएको एक अध्ययनले ३२.६ प्रतिशतलाई कुनै न कुनै प्रकारको लक्षण देखिएको छ । कतिपयलाई लक्षण नै देखिएको छैन । लक्षण देखिएकाहरूमा फरक–फरक समस्या देखिएका छन् ।
टेकु अस्पतालबाट करिब पाँच महिनाको अवधिमा कति संक्रमितले सेवा पाएका छन् ?
पछिल्लो पाँच महिनामा कोरोना संक्रमण देखिएका करिब ९० जनाले उपचार लिइसकेका छन् । भने कोरोना भाइरसको आशंका गरिएका र संक्रमित गरी सात सयभन्दा बढीले सेवा लिएका छन् । यो अस्पताल कोरोना विशेष अस्पतालमा भएको हुँदा यहाँका सबै संरचना पनि परिवर्तन भएका छन् ।
पहिलो कोरोना संक्रमण देखिँदा यहाँ पाँचवटा आइसोलेसन बेडबाहेक केही थिएन । तीनवटा आईसीयू बेड थिए । अहिले अन्य रोगसँगै कोरोना संक्रमण र भएका व्यक्तिको उपचारका लागि २० वटा आईसीयू बेड छुट्याएका छौं ।
कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिमा लक्षण पनि फरक–फरक देखिन्छ । आइसोलेसनमा सामान्य २५ र स्पेसल आइसोलेसन पाँचवटा गरी ३० वटा बेड छन् ।
ग्यास्ट्रो वार्ड सबैलाई आइसोलेन बनाएका छौं । सबै बेडमा अक्सिजन छन् । जसमा सबैमा सीसीटीभीबाट निगरानी गर्ने व्यवस्था मिलाएका छौं । संक्रमितकोे, कपडा धुने एउटा अटो मेसिन छ । आईसीयूबाट आएको हावा हेपाफिटर जडान गरेका छौं । अस्पताललाई पहिलेको तुलनामा निकै राम्रो र व्यवस्थित बनाएका छौं ।
अस्पतालमा कस्ता व्यक्तिले मात्र कोरोना परीक्षण गर्न पाउँछन् ? मापदण्ड के छन् ?
कोरोना परीक्षण गर्ने मापदण्ड भनेको संक्रमितको नजिक भएका व्यक्तिको पीसीआर परीक्षण गरिन्छ । नजिक पनि कति भन्ने होला । यदि कोही व्यक्ति संक्रमितको एक मिटरको दूरीमा छ, मास्क लगाएको छैन आदि हेरिन्छ । उच्च कोरोना संक्रमण देखिएको जिल्लाका व्यक्तिहरूको र गर्भवती र अप्रेसन गर्नुपर्ने व्यक्तिको र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिको पीसीआर परीक्षण गरिन्छ ।
अस्पतालमा आउने ७० देखि ८० प्रतिशत घरबेटीले कोरोना परीक्षणको रिपोर्ट मागेको समस्या लिएर आएका छन् । उनीहरूलाई सम्झाउने गरेका छौं । कतिपयलाई सरकारले कस्ता व्यक्तिलाई कोरोना परीक्षण गर्ने भनेको मापदण्डको फोटो खिचेर लैजान भन्ने गरेका छौं ।
सरकारले परीक्षणको दायरा बढाएको भन्दै आएको छ । परीक्षणका लागि यहाँ आउनेको भीड घटेको छैन नि ?
यहाँ कोरोना परीक्षण गर्न भन्दै दैनिक ७ सयदेखि १२ सयसम्म व्यक्ति आउने गरेका छन् । अधिकांशले कोरोना अस्पताल भनेपछि यही अस्पताललाई सुरुमा सम्झन्छन् । यो गरिबको अस्पताल पनि हो । यहाँ परीक्षणलगायत सबै सेवा सजिलै र सस्तोमा पाउन सकिन्छ । अन्य अस्पतालले कोरोना संक्रमित रहे अस्पतालमै संक्रमण हुन्छ साथै स्वास्थ्यकर्मीमा पनि जोखिम हुन्छ भनेर सजिलै उपचार दिन नमानेको देखिन्छ । जसकारण मानिसहरू अन्यत्रभन्दा सीधै यतै आएको देखिन्छ ।
कोरोना संक्रमण देखिएकामाथि समाजको दृष्टिकोण कसरी परिवर्तन गर्न सकिन्छ ? यसलाई निको हुने रोग भनेर सर्वसाधारणलाई कसरी बुझाउने ?
कोरोना कुनै पापले गर्दा वा गल्तीले लाग्ने रोग होइन । यसले धनी, गरिब केही भन्दैन । जसलाई पनि हुन्छ । यसबाट बच्न दूरी कायम गर्ने, हात धुने र मास्क लगाउनु नै उत्तम मानिन्छ । साथै हाम्रो बानी–व्यवहार परिवर्तन गर्नुपर्छ । कोरोना संक्रमण हुँदैमा मृत्यु भइहाल्ने पनि होइन । ५ देखि १० प्रतिशतलाई कुनै न समस्या देखिने हो तर २ प्रतिशतलाई मात्र जटिल समस्या देखिने हो । कोरोना देखिँदैमा नकारात्मक दृष्टिबाट हेर्दा आत्महत्याका साथै अन्य रोग बढ्ने जोखिम रहन्छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुने ०.२ प्रतिशत मात्र छ । जसमा दीर्घरोग भएका व्यक्ति बढी छन् । अस्पतालहरूले पनि कोरोना संक्रमणको नामका सेवा दिन वञ्चित गर्नु हुँदैन । २० वर्षअघि एचआईभी एड्सका बिरामीलाई नकारात्मक दृष्टिबाट हेरिन्थ्यो । डाक्टरहरूले पनि एचआईभीका बिरामीलाई छुन डराउँथे । कोरोना पनि ५ देखि १० वर्षसम्म हामीसँग सँगै जान्छ चिकित्सकहरूले पीपीई लगाएर सेवा दिने गर्नुपर्छ ।
अस्पतालमा पनि दूरी कायम गरेर बिरामी राख्ने, दिनमा तीनदेखि चारपटक सफाइ गर्नुपर्छ । अहिले त कोरोनाभन्दा पनि अन्य रोगबाट मानिसको मृत्यु भइरहेको छ । नेपालमा क्षयरोगले दैनिक १८ जनाको ज्यान जान्छ ।
लकडाउन खुकुलो हुँदा कोरोना जोखिम कतिको हुन्छ ?
सुरक्षा अपनाएर गाडी चलाउन दिनुपर्छ । एउटा सिटमा एकजना मात्र राख्ने, दूरी कायम गर्ने, भीड नगर्ने, उभिएर यात्रा नगर्ने, यात्रुले अनिवार्य मास्क लगाउने र कोरोनाबाट बच्ने सूचना अनिवार्य टाँस्ने गरिनुपर्छ । गाडी चालकले अनिवार्य मास्क लगाउनुपर्छ । बस स्टपहरूमा हात धुने वा स्यानिटाइजरको व्यवस्था मिलाउनुपर्छ ।
ट्याक्सीमा पनि दुई जनाभन्दा बढी मान्छे नराख्ने, मास्कको प्रयोग गर्ने गर्नुपर्छ । भिड नजाने र नगर्ने, धेरै मानिस बोलाएर भोजभतेर गर्न भएन ।
अनावश्यक रूपमा अस्पताल जानुहुँदैन । कोरोनाको उच्च जोखिम क्षेत्र भनेको अस्पताल हो । त्यहाँ जसलाई पनि कोरोना देखिन सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मिर्गौला, पेसर, सुगर, क्यान्सर, दीर्घ श्वासप्रश्वास, एचआईभीलगायतका बिरामीलाई सकेसम्म घरमै बस्ने बाहिर जाने गर्नुहुँदैन । गर्भवती र सुत्केरीलाई कोरोना संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले अनावश्यक रूपमा बाहिर जानु हुँदैन । बाहिर जानै परे दूरी कायम राख्ने, हात धुने, मास्क लगाउने गर्नुपर्छ ।
अन्य विभिन्न जिल्लाबाट आउनेलाई रोक्नु हुँदैन । उदाहरणका लागि कोही मानिस काठमाडौं आउँदै छ, थानकोट आइपुग्यो । तर थानकोटमै रोकियो भने ऊ फर्केर जान मान्दैन । लुकेर जसरी पनि काठमाडौं आइहाछ । बरु त्यस्तालाई राख्ने क्वारेन्टिनको व्यवस्था मिलाउनुपर्छ । होटलमा बस्न सक्ने होटलमा राख्ने र नस्कनेहरू विभिन्न क्लब, कभर्डहलहरूमा राख्न सकिन्छ । १४ दिनसम्म राख्नुपर्छ । त्यो समयमा कुनै समस्या देखिए पीसीआर परीक्षण गर्ने र समस्या नदेखिए घर जान दिन सकिन्छ ।
स्वास्थ्यकर्मीको सुरक्षा–साम्रगीको व्यवस्थापन कसरी भइरहेको छ ?
हामी काम गर्नेलाई स्वास्थ्य सामग्री अभाव नहोस् भनेर स्वास्थ्य मन्त्रालयले बजेट दिएको छ । विभिन्न संघ–संस्थाबाट स्वास्थ्य सामग्रीहरू सहयोग पनि पाइरहेका छौं । तसर्थ अहिले स्वास्थ्य सामग्रीको अभाव भने छैन ।
तस्बिर : सुनील प्रधान