काठमाडौं । भारतीय सञ्चारमाध्यममा नेपाल र नेपालको नेतृत्वका विषयमा प्रकाशित सामग्रीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ ।नेपाल सरकारको परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय सञ्चारमाध्यममा प्रकाशित सामग्री भ्रमात्मक, आधारहीन र असंवेदनशील भएको र यसले नेपाल र नेपालको नेतृत्वको अपमान भएको जनाएको छ ।
यस्ता सामग्रीले भ्रम फैलाउने र गलत सूचनाको प्रसार गर्नेमात्र नभएर सभ्य समाजले अपेक्षा गरेको आधारभूत मूल्यमान्यता विपरीत भएको जनाइएको छ । परराष्ट्र स्रोतले भनेको छ, “भारतीय मिडियामार्फत आलोचना गर्ने उद्देश्यले प्रेरित अभियानले नेपाली र नेपालको नेतृत्वको भावनमा चोट पुर्याएको छ ।”
“नेपाल-भारतबीच ऐतिहासिक, सामाजिक-सांस्कृतिक र व्यक्ति-व्यक्ति सम्बन्ध एकअर्को मुलुकका जनताको भावनाको संवेदनशीलताका महत्वपूर्ण पक्ष हुन्,” स्रोतले भनेको छ, “यी सम्बन्धहरु समान सार्वभौमसत्ता, मैत्रीपूर्ण र एकअर्काको विभिन्न विषयहरुमा पारस्पारिक सम्मानको सिद्धान्तका आधारमा द्विपक्षी सम्बन्ध गहिरो र बहुआयामिक रहेको छ ।”
सही सूचना प्रसारण र सही दृष्टिकोणका लागि मिडियाले सकारात्मक भूमिका निर्माण गर्ने र सम्बन्धलाई विस्तार गर्ने भएकोले मिडियाले प्रेस स्वतन्त्रताको आधारभूत मान्यतालाई तोड्न नहुने बताइएको छ । भारतीय मिडियामा दुई मुलुकका जनता र नेतृत्वको सम्मान गर्ने र द्विपक्षी सम्बन्धको आधारलाई नै आँच पुर्याउने गरी प्रकाशित सामग्रीले नेपाल र नेपालीको अपमान गरेको छ ।
स्रोतले भनेको छ, “नेपालबारे भारतीय मिडियामा प्रकाशित त्यस्ता सामग्रीमाथि तत्काल कारबाही गर्न आग्रह गर्दछौं र यस्ता सामग्रीले मिडियामा स्थापन पाउने छैनन् भन्नेमा विश्वस्त छौं ।”