एजेन्सी । कोरोनाभाइरसले फोक्सोलाई मात्र नभएर, बिरामीको मृगौला, कलेजो, मुटु, मष्तिस्क, स्नायु प्रणाली, छाला र ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्ट अर्थात् आन्द्रालाई समेत नराम्ररी क्षति पुर्याउने शुक्रबारको कोभिड–१९ रिपोर्टले देखाएको छ । यसमा न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टरका अध्ययनकर्ताहरुको टोलीले आफ्नै अनुभव र विश्वभरका स्वास्थ्यविद्हरुबाट रिपोर्ट संकलन गरि यो निस्कर्ष निकालेका हुन् ।
सो अस्पताल यसअघि कोभिडका बिरामीले भरिभराउ सबैभन्दा व्यस्त अस्पताल थियो । यसरी उनीहरुको रिसर्चबाट के पत्ता लागेको छ भने कोरोनाभाइरसले अज्ञात रुपमा मान्छेको शरीरका सबै प्रमुख प्रणालीहरुमा हमला गरिरहेको हुन्छ जसको सीधा असर स्वरुप अङ्ग फेल हुने र रगत जम्ने, मुटुको ढुकढुकीमा अवरोध पुग्ने, मृगौलाबाट रगत अनि प्रोटिन निस्कने र छालामा पनि डाबरलगायत विभिन्न समस्या आउने गरेको छ ।
यतिमात्रै नभएर यसका कारण टाउको दुख्ने, रिँगाटा चल्ने, मांसपेसी दुख्ने, पेट दुख्नेलगायत श्वासप्रश्वास सम्बन्धी लक्षण जस्तै खोकी र ज्वरो आउने पनि हुन्छ ।
यसबारे कोलम्बियामा कार्यरत कार्डिओलोजीकी डाक्टर आकृति गुप्ता भन्छिन्, “फिजिसियनहरुले कोभिड–१९ लाई ‘मल्टि–सिस्टम’ रोग अर्थात् विविध प्रणाली अन्तर्गतको रोगका रुपमा हेर्नुपर्छ । हालसम्म रगत जम्ने सम्बन्धी थुप्रै खबरहरु आइसकेका छन् तर हामीले यसको अर्को महत्वपूर्ण पक्षबारे पनि बुझ्न उत्तिकै जरुरी छ जसमा बिरामीले मृगौला, मुटु र दिमागी क्षतिबाट पनि गुज्रिनुपर्ने हुन सक्छ र श्वासप्रश्वाससँगै फिजिसियनले सो अवस्थाको पनि उपचार गर्नुपर्ने हुन्छ ।”
यो भाइरस रिसेप्टरसँग जोडिएकाले पनि शरीरमा यति धेरै क्षति पुर्याउन सक्षम रहेको उनीहरुको भनाइ छ ।
रिसेप्टर, सेलमा प्रवेश गर्ने माध्यम हो जसलाई एसीइ २ पनि भनिन्छ । यस्तोमा मृगौला, कलेजो, फोक्सो, आन्द्रा, प्यानक्रियाज आदिका रगत नलीको सतह एसीइ २ रिसेप्टर सेलले ढाकिएका हुन्छन् जसलाई नै भाइरसले संक्रमण फैलाउनका लागि प्रयोग गर्ने रिसर्च टोलीले जर्नल नेचर मेडिसिनमा प्रकाशित अध्ययनमा उल्लेख गरेको छ ।त्यसमा लेखिएको छ, “हाम्रो वैज्ञानिक खोजकाअनुसार सेल र टिस्युहरुमा पुग्ने प्रत्यक्ष क्षतिका कारण नै एक भन्दा बढी अङ्गमा सिधा क्षति पुग्ने गर्दछ ।”
त्यस्तै कोरोना भाइरसको संक्रमणले हाम्रो प्रतिरोधात्मक प्रणालीलाई पनि सक्रिय पार्ने गर्दछ । र त्यही प्रतिक्रियामा ‘इन्फ्लामेसन’ गराउने प्रोटिन, ‘साइटोकाइन्स’ को उत्पादन भइरहेको हुन्छ । यस किसिमको इन्फ्लामेसनले सेल र अङ्गहरुमा ठूलो क्षति पुर्याउन सक्छ र यही साइटोकाइन्स अधिक मात्रामा भएका कारण कोरोनाका बिरामीमा गम्भीर लक्षण देखा पर्ने गरेको हो ।
कार्डियोलोजीकै अर्का डाक्टर महेश माधवनले भनेका छन्, “यो असाधारण भाइरसले शरीरलाई कति धेरै रुपमा हनि पुर्याउन सक्छ भन्ने कुरा वास्तवमै आश्चर्यजनक छ । ” त्यसैगरी निमोनियाले रगतमा अक्सिजन कम हुँदै जाने गरेकाले नै कोरोनाका बिरामीको रगत जम्ने गरेको अध्ययनकर्ताहरुको भनाइ छ ।
यस किसिमले रगत जम्दा स्ट्रोक वा ह्दयघात हुने जोखिम बढी हुन्छ भने कतिपयको फोक्सोले काम गर्न छाड्न सक्छ ।
त्यस्तै प्यानक्रियाजमा क्षति पुग्नुले भने मधुमेहलाई झन खराब बनाइदिन्छ र अहिलेसम्मको अध्ययनमा मधुमेहका बिरामी कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी जोखिममा रहेको पाइएको छ । यस्तोमा डाक्टरहरुले कुनै पनि कोरोना बिरामीलाई अस्पताल ल्याउँदा भाइरसका कारण उत्पन्न हुने यी सबै शारीरिक समस्याहरुको पनि उपचार गर्न तयार रहनुपर्ने अध्ययनको निष्कर्ष छ ।
यसमा केही सकारात्मक खबरहरु चाहिँ, ग्यास्ट्रोइन्टेस्टाइनल लक्षणहरुसँग सम्बन्धित समस्या अहिलेसम्म मृत्युसँग जोडिएको छैन र बिरामीमा हुने छालाका समस्या जस्तै, सुन्निने, नीलो हुने, डाबर आउने जस्ता लक्षण पनि पछि आफैँ ठीक हुँदै जाने बताइएको छ । – सीएनएनबाट