राजविराज | सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरमा भएको महिला हत्या आरोपमा डाकनेश्वरी नगरपालिका–७ का वडा सदस्यहसहित पाँचजना पक्राउ परेका छन्। मेनेजर मण्डलकी श्रीमति ५५ वर्षीया मानशेरदेवी मण्डलको शनिबार भएको हत्या आरोपमा सप्तरी प्रहरीले वडा सदस्य ४० वर्षीय बिरेन्द्रकुमारसहित सोही वडाका ३५ वर्षीय कारी साह, ५५ वर्षीय रामप्रसाद साह, २२ वर्षीय धनबिर साह र १५ वर्षीय सुनिलकुमार साहलाई पक्राउ गरेको जनाएको छ।
घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरेर इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको हिरासतमा राखेको छ। पोखरीमा माछा मार्ने विषयमा भएको झगडा छुट्याउन गएकी मण्डलको टाउकोमा बाँसको लठीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको उनका छोरा श्यामकुमार मण्डलले बताए।
रामप्रसाद साहले हकभोग गरिरहेको पोखरीमा अदालतमा मुद्दा चलिरहेको छ। मृतकका भतिजा पञ्चनारायण मण्डलका अनुसार सप्तरी जिल्ला अदालतले सार्वजनिक ठहर गरेको पोखरी आफ्नो भएको भन्दै साहले पुनरावेदन गरेका छन्। साहका छोरा बौका भनिने दिपेन्द्र साहले शनिबार जाल हालेर माछा मारिरहेको देखि पोखरी किनारमा बसोबास गर्ने जीवन मण्डल, दुर्गा मण्डललगायतले पनि माछा लिन खोज्दा झगडा बढेको मण्डलले जानकारी दिए।
विवाद बढेपछि छुट्याउन गएकी मानशेरको टाउकोमा चोट लागी घटनास्थलमै मृत्यु भएको उनका देवर शत्रु्घ्न मण्डलले बताए। कुटपिटमा घाइते सोही ठाउँकी ३५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। मानशेरको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। मृतकका श्रीमान, छोरा, बुहारी, ३ नाति र दुई छोरी छन्।