विरगंज । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठकमा आफु माथि कारबाही गर्ने संकेत देखिएपछि बैठक नै सारिदिएका छन्। बुधबारका लागि तय गरिएको सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक फेरि दुई दिन सारिएको हो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार र मंगलबार भएको छलफलमा बुधबार बैठक बस्ने समझदारी भएको बताइएको थियो। तर, बुधबार बैठक बस्ने बेलामा स्थगित गरियो।
ओलीनिकट एक नेताले स्थायी समितिमा प्रधानमन्त्रीमाथि कारबाही गर्ने प्रस्ताव ल्याउने सुइँको पाएपछि बारम्बार बैठक सारिएको दाबी गरे।
असार १० देखि सुरु भएको स्थायी समिति बैठकमा १६ गतेदेखिको छलफल ओलीको राजीनामामा केन्द्रित भएको थियो। त्यसैले १८ गतेको बैठकमा ओली उपस्थित भएनन्। त्यसयता बारम्बार स्थगित हुँदै आएको बैठक पुनः असार २६ गते बोलाइएको छ।
तर, आफूले गल्ती गरेपछि आलोचना हुने डरले ओली बैठकबाट भागिरहेको प्रचण्ड–नेपाल समूहका एक नेता बताउँछन्।