रौतहट । आफन्तको कुटपिटबाट रौतहटका एक युवाको सर्लाहीमा मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका ६ का ३५ वर्षिय अशोक यादव रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुंवरले जानकारी दिए ।
घटनामा संलग्न सर्लाहीका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।लेनदेनबारे छलफल गर्न अशोक यादव मंगलबार साँझ आफन्तको घर सर्लाहीको बलरा नगरपालिका गएका थिए ।
लेनदेनकै बिषयमा भनाभन हुँदा उनीमाथि कुटपिट भएको थियो । कुटाइबाट उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कुंवरले बताएका छन् । उनीमाथि आफन्तले कुटपिट गरेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव आज पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।
अनुसन्धान प्रभावित हुने भएकाले पक्राउ परेकाको नाम तत्काल सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।