काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
महाशाखा प्रमुख एसएसपी दिपक थापाका अनुसार कागज, बोतल उठाउने व्यक्तिको हुलियामा सुन, चाँदी पसलको रेकी गरी उनीहरुले चोरी गर्ने गरेका थिए ।उनीहरुले लाजिम्पाटको पबी जवेलर्समा रहेको एक किलो एक सय ५० ग्राम सुन, ८ किलो ५ सय ६० ग्राम चाँदी र नगदसमेत गरी ८५ लाख ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अनुसन्धानबाट देखिएको छ ।
महाशाखाको विशेष टोलीले सुमित र बुद्धलाई मोरङको उर्लाबारीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।विक्रमलाई भने दरबारमार्गबाट पक्राउ गरिएको थापाले बताए । घटनामा संलग्न दुई जना भारतीय मूलका अभियुक्त फरार छन् ।
प्रहरीका अनुसार उनीहरुले पसलभित्र रहेको सीसी टीभीको डीभीआर समेत बोकेर लगेका थिए । दुई वटा समूहले जेलमा भएको चिनजानपछि पुनः भेला भएर अन्तिम पटक ठूलो काम गर्ने भन्दै चोरी गरेको पाइएको छ ।जेलबाट छुटेको एक महिनामै उनीहरुले यो चोरी गरेको थापा बताउँछन् ।