काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए ।दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।
छलफलमा सहभागी एक नेताले अनलाइनबरसँग भने, ‘दुई अध्यक्षबीच छलफल सौहाद्रपूर्ण भयो, प्रधानमन्त्रीज्यूले भोलि स्थायी कमिटीको बैठकअघि एकचोटि फेरि छलफल गरौं न त भन्नुभएको छ ।’नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।
पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी नै फुट्ने हो कि भन्ने ढंगबाट विवाद चर्किएपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो ।
दुबै अध्यक्ष आ-आफ्नै अडानमा
उच्च स्रोतका अनुसार शुक्रबार दुई अध्यक्षवीच भएको लामो छलफलमा दुबै अध्यक्षले आ-आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए । मंसिर ४ को सहमति भनेको प्रधानमन्त्री केपी ओलीले चलाउने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले चलाउने भन्ने हो ।
तर, अर्का अध्यक्ष प्रचण्डले परिस्थिति धेरै अगाडि बढिसकेकाले मंसिर ४ को सहमतिअनुसार अघि बढ्न नसकिने धारणा राखेको स्रोतले बतायो । प्रचण्डले अब त्यो परिस्थितिबाट पार्टी धेरै अगाडि बढिसकेकाले प्रधानमन्त्रीले त्याग देखाउनुपर्ने बताएका थिए ।
छलफलको अन्तिममा प्रधानमन्त्री ओलीले भोलि स्थायी कमिटी बैठकअघि एकचोटि फेरि छलफल गरौं भनेर समय मागेको स्रोतले अनलाइनखबरलाई बतायो ।शीर्षनेताहरुको विवादका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ता भइरहेका बेला दुई अध्यक्षवीचको छलफलपछि नेताहरुले पार्टी चाहिँ नफुट्ने दाबी गरेका छन् ।