बीरगन्ज । प्रदेश २ सरकारले बारामा चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ ।प्रदेश नं. २ सरकारको मन्त्रिपरिषद्कोे अहिले बसिरहेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिदैं भने “बारामा आज बिहान चट्याङ लागेर ४ जना महिलाले ज्यान गुमाएको दुखद खबर आउने बित्तिकै आकस्मिक बैठक बसेर मृतकका प्रत्येक परिवारलाई एक/एक लाख रुपैंया राहत स्वरुप दिने निर्णय भएको छ, मृतक सबैप्रति हार्दिक समवेदना पनि छ ।”
यसअघि, बारा जिल्लाको कलैया उपमहानगर र फेटा गाउँपालिकामा आज बिहान परेको चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको थियो ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षिय आशादेवी महतो, ४५ वर्षिय हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षिय इन्दुदेवी महतो र ४० वर्षिय सुनारपतीदेवी महतो रहेका छन् । उनीहरु चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।