वीरगंज। विश्वका १ सय भन्दा धेरै प्रतिष्ठित व्यक्तिहरुले कोभिड-१९ को खोप निःशुल्क बनाउन र उपलब्ध गराउन आग्रह गरेका छन् ।यसरी आग्रह गर्नेमा १८ जना नोवेल पुरस्तार विजेता छन् । संयुक्त पत्र जारी गर्दै हालै उनीहरुले खोप सर्वसुलभ बनाउन अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका हुन् । नोवेल पुरस्तार विजेता मुहम्मद युनुसले स्थापना गरेको संस्था युनुस सेन्टरले यसबारे जानकारी दिएको हो ।
बंगलादेशको ढाकास्थित यस संस्थामा विश्वका प्रतिष्ठित राजनेता, कलाकार र अन्तर्राष्ट्रिय संघ संगठन सामेल छन् । विश्वभर रहेका विपन्न र कमजोर मानिसलाई बचाउन उनीहरुले विज्ञप्ति मार्फत राजनीतिज्ञ र स्वास्थ्य उद्यमीहरुलाई आग्रह गरेका छन् । साथै यस्तो काम मानिसको सामुहिक उत्तरदायित्व भएको उनीहरुको भनाइ छ ।
कोभिड १९ को खोप विकास गर्न पछिल्लो ६ महिना भन्दा अघिदेखि विश्वका प्रतिष्ठित वैज्ञानिहरु रात-दिन कठिन संघर्ष गरिरहेका छन् । अमेरिकी वैज्ञानिकहरुका अनुसार २०२० को अन्त्यतिर यसको खोप तयार हुनेछ ।