वीरगंज। निजी विद्यालयका सञ्चाललकहरुले वैशाखको शुल्क नलिने साथै जेठ महिनादेखि शिक्षणबाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् ।शिक्षा पत्रकार समूहको साप्ताहिक भर्चुअल संवाद शृंखला शिक्षाबारमा सोमबार उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटाले शुल्कको मापदण्डका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गरिरहेको र छिटै टुंगो लाग्ने बताए ।
सबैपक्ष आ-आफ्नो ढंगबाट अगाडि बढ्दा निष्कर्षमा नपुगिने भन्दै सापकोटाले यसको निकासको लागि मन्त्रालयले नेतृत्व लिने दाबी गरे । सबै सरोकारवालासँगको वार्ता र संवादका माध्यमबाट मन्त्रालयले छिट्टै शुल्कको विवाद समाधान गर्ने उनको भनाइ थियो । संस्थागत तथा आवासीय विद्यालय एशोसियशन (प्याब्सन)का सहअध्यक्ष डीके ढुंगानाले निजी विद्यालयहरुले वैशाखको मासिक शुल्क र जेठदेखि भौतिक रुपमा विद्यालय सञ्चालन नभएसम्म शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने स्पष्ट पारेका छन् ।
चैतको सट्टा वैशाखको शुल्ब नलिने बताउँदै ढुंगानाले शिक्षा मन्त्रालय प्रष्ट नहुँदा तिर्न सक्ने अभिभावक शुल्क तिर्न तयार हुँदा समेत आफुहरुले लिन नपाएको उनको गुनासो थियो ।”हामीलाई जेठ महिनादेखिको कुनैपनि अतिरिक्त शुल्क बाहेक पढाइ शुल्क मात्रै लिन दिइयोस्,” उनले भने, “त्यही पढाइ शुल्कले हामी विद्यालय व्यवस्थापन गर्दै जान्छौं ।”
एन प्याब्सनका महासचिव सुवास न्यौपानेले जेष्ठ महिनादेखिको पढाइ शुल्क मात्रै लिन आफूहरु तयार भए पनि शिक्षा मन्त्रालयका कारण अन्योलता सृजना भएको बताए । अहिलेको कोभिड–१९ को महामारीले बाँच र बचाऔंको अवस्था सृजना गरिदिएको भन्दै महासचिव न्यौपानेले एकदमै समस्यामा रहेका अभिभावकले जहिले सक्यो त्यसबेला शुल्क तिरे हुने गरी आफूहरु लचक भएको स्पष्ट पारे ।सक्ने र दिन तयार अभिभावकबाट पढाइ वापतको न्यूनतम शुल्क लिएर विद्यालय व्यवस्थापन गर्छौं भन्दा पनि नपाएको उनको गुनासो थियो ।
नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले पढाइ नभएको समयको शुल्क नलिइयोस् भनेर महासंघले शिक्षा मन्त्रालयमा ज्ञापन बुझाइ सकेको भन्दै सक्नेले निजी विद्यालयलाई र नसक्ने अभिभावकलाई निजी विद्यालयले माया गर्नुपर्ने बताए ।मन्त्रालयको नेतृत्वमा सरोकारवालासहितको वार्ता गरी त्यहाँ अभिभावक, विद्यालय सञ्चालक र सरकारले कति योगदान गर्ने भनेर छलफल गरी शुल्कको किचलोलाई निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ थियो ।शिक्षा पत्रकार समूहको नियमित साप्ताहिक शृंखला शिक्षाबारको ‘निजी विद्यालयको शुल्क किचलो र निकास’ विषयक भर्चुअल संवादमा निजी विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक, सरकारी प्रतिनिधि एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।