पोखरा । पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् ।
प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले शव व्यवस्थापन गरेर फर्किने क्रममा झडप भएको बताए । ‘सुरुदेखि नै अवरोध सिर्जना भइरहेको थियो । पछि सद्गद् गरेर फर्किनेबेला स्थिति असामान्य बन्न पुगेको हो,’ उनले भने, ‘नाकामा चेकिङका लागि राखिएका टेन्टमा सामान्य क्षति पुगेको छ ।’झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।
जेठ २५ गते मृत्यु भएका ती व्यक्तिको शव पोखरा ११ र २० को सिमानामा व्यवस्थापन गरिएको थियो ।बस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधिले नै अवरोध गरेका थिए । त्यतिबेला पनि प्रहरी र स्थानीयबीच झडप हुँदा वडाध्यक्षसहित केही प्रहरीसमेत घाइते हुन पुगेका थिए ।