दाङ । दाङमा बुधबार एकै दिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा यस्तो पुष्टि भएको हो । बंगलाचुली गाउँपालिकाका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा गरी एकै दिन ७६ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।
बंगलाचुली गाउँपालिका २ बाट संकलन गरिएको ८४ जनाको स्वाबमध्ये ४९ जनाको परीक्षण गरिएको र ती मध्ये ४२ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित हुनेहरुको उमेर ५ देखि ४४ वर्ष उमेर समुहको छ । तीमध्ये ३ जना महिला रहेका छन् भने ३९ जना पुरुष रहेका छन् ।
घोराही उपमहानगरको १ का २५ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ४ जना र वडा नम्बर १५ का एक जना गरी ३४ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ । यसमा तीनजना महिला रहेका छन्। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र अनुसार यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा प्युठानका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्युठान मल्लरानी गाउँपालिका र झिम्रुक गाउँपालिकाबाट संकलन गरिएको १४ जनाको स्वाब मध्य १० जनाको पोजिटिभ देखिएको प्रतिष्ठानले बताएको छ ।
प्रतिष्ठानले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, दंगिशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, प्युठानको मल्लरानी गाउँपालिका, झिम्रुक गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, माण्डबी गाउँपालिका, कपिलबस्तु लगाएतका क्षेत्रबाट संकलन गरिएको ७ सय ५९ जनाको स्वाब परिक्षण गर्दा ९४ जनामा कोरोना देखिएको जनाएको छ ।
दाङको घोराही र बंगलाचुली कोरोनाको इपिसेन्टर बन्दै गएका छन्। बंगलाचुलीका सबै क्यारेन्टाइनमा ५० प्रतिशतभन्दा बढी संक्रमित देखिएका छन् ।