सल्यान | कोरोना भाइरस महामारीमा पनि सल्यानमा महिला हिंसाका घटनामा कमी आउन नसकेको पाइएको छ। सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न गत चैत ११ देखि लकडाउन घोषणा गरे यता सल्यानमा सातवटा बलात्कारका घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसारचैत ११ देखि असार ७ सम्म सातवटा महिला हिंसाका घटना भएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जबरजस्ती करणीका ११ र जबरजस्ती करणी उद्योगका ६ घटना भएकोमा लकडाउनको तीन महिनामा सातवटा घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। लकडाउनको अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना र त्यसपछि महिला हिंसाकको घटना भएको खतिवडाले बताए। उनका अनुसार यस अवधिमा हत्याका घटना दुई, भवितव्यले मृत्यु ६, झुन्डिएर १५ ले आत्महत्या गरेका छन्।