वीरगंज। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ४४ पुगेको छ । सोमबार (हिजो) १३७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या ११ सय ४४ पुगेको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरि १३७ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म प्रदेशमा १६५ जना संक्रमित डिस्चार्ज भइसकेका छन् ।
संक्रमितमध्ये कैलालीका ३४७, कञ्चनपुरका १०७, अछामका ६७, डडेल्धुराका २०४, दार्चुलाका १३ जना छन् । बझाङका २१, बैतडीका १७२, डोटीका १४२ र बाजुराका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख ७ हजार २४७ जनाको परीक्षण गरिएको छ भने १७ हजार ६११ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशभर २९ हजार ९२८ जना क्वारेन्टिनमा छन् । उनीहरु सबैजसो भारतबाटै आएका हुन् ।