तनहुँ | तनहुँमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समुदायका व्यक्तिसहित १८ जना सोमबार साँझ कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये बन्दीपुरमा ११, आँबुखैरेनीमा तीन, घिरिङ गाउँपालिका एक र भिमाद नगरपालिकामा तीनजना रहेका छन्। बन्दीपुर गाउँपालिकाका संक्रमितमध्ये स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एकजना समुदाय र सातजना क्वारेन्टाइनमा रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
त्यस्तै, बन्दीपुरमा पहिलोपटक कोरोना संक्रमणको पुष्टि भएको हो। बन्दीपुरका ३५ वर्षीया एक महिला र ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ वर्षका पुरुष गरी ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार आँबुखैरेनी गाउँपालिकाका तीनजनामध्ये एक सुरक्षाकर्मी हुन्। अन्य तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनीहरु ३५, ४६ र ३७ वर्षका पुरुष छन्। भिमाद नगरपालिकाका तीनजना संक्रमित क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति हुन्।
भिमादका २२, २३ र २७ वर्षका पुरुष र घिरिङ गाउँपालिकाका १८ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। तनहुँका १० वटा स्थानीय तहमध्ये आठवटामा कोरोनाको संक्रमण देखिएको छ। पृथ्वी राजमार्गलाई छोएको म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिकामा संक्रमण देखिएको छैन। सोमबार थपिएसँगै तनहुँमा जम्मा संक्रमितको संख्या ९० पुगेको छ।