वीरगञ्ज | प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई समयमै मल उपलब्ध गराउन संघीय सरकारको ध्यानाकर्षण गराएको छ। मन्त्री शैलेन्द्रप्रसाद साहले सोमवार विज्ञप्ति जारी गरेर धान खेतीमा प्रयोग हुने मलखादको नियमित आपूर्तिका लागि संघ सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
अबको केही दिनमा मनसुन आउने भएकाले रोपाइँको बेला पर्याप्त परिमाणमा डिएपी तथा युरिया मल आवश्यक पर्ने भन्दै समयमा आपूर्ति गर्न संघ सरकारसँग मन्त्री साहले आग्रह गरेका छन्। ‘नेपालमा धान उत्पादन गर्ने दृष्टिले प्रदेश २ अग्रपंक्तिमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा सर्वाधिक खपत हुने अन्नबाली धान नै रहेकाले यसको उत्पादनमा प्रयोग हुने मलखादको नियमित आपूर्तिका लागि संघ सरकारलाई थप गम्भीर बन्न आग्रह गर्दछु।’
संघ सरकारले यसअघि विभिन्न लटमा आपूर्ति गरेको मल प्रदेश २ मा कम मात्रामा आएको मन्त्री साहले बताएका छन्। अबको लटमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश २ मै खपत गराउने व्यवस्थाका लागि समेत संघ सरकारसँग आग्रह गरिएको छ। मुलुकभर बर्सेनि सात लाख मेट्रिक टन मल आवश्यक रहेकामा तीमध्ये तीन लाख मेट्रिक टन प्रदेश २ मा मात्र चाहिने हुँदा मल आपूर्तीमा थप गम्भीरता अपनाउँदै ‘मल कारखाना’ स्थापना गर्न समेत मन्त्री साहले संघीय सरकारको ध्यानाकर्षण गरेका छन्।
यस्तै मलमा भइरहेको कालोबजारी रोक्न समेत संघीय गृह प्रशासनको ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘डिएपी, युरिया, पोटास भण्डारण गरी बढी मूल्यमा विक्री वितरण गर्नेहरुको पहिचान गरी किसानलाई निर्धारित मूल्यमा सरल ढंगले उपलब्ध गराउन संघीय गृह प्रशासनको गम्भीरता आवश्यक छ।’ प्रदेश २ मा हालसम्म करिब २० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।