काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता कोरोना देवी र कोरोना मैयाको नाममा भिड जम्मा भएर पूजा गरिरहेको कुरामा ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा बोल्दै देशका विभिन्न स्थानमा कोरोना मैया र कोरोना देवीको नाममा महिलाहरुले पूजा गर्न लागेको भन्दै यस्तो काम तत्काल बन्द गर्न आग्रह गरेका हुन्। उनले यसरी नदी किनार, धार्मिक स्थान तथा मन्दिरहरूमा भिडभाड भएर पूजा गर्दा कोरोना फैलिने झनै जोखिम बढेको बताएका छन्।
‘देशका विभिन्न स्थानमा महिलाहरुले कोरोना देवी र कोरोना मैयाको पूजा गरिरहेको सुनेका छौं। मानिसहरुले नदी किनार र धार्मिकस्थलमा पूजा गरिरहेको खबर आएको छ’, उनले भने, ‘देवीलाई पूजा गरेमा कोरोना भाइरस नियन्त्रणमा आउँछ भन्ने सुनिएको छ। यो भाइरस हराए जान्छ भन्ने विश्वासका साथ गरिएको भन्ने आएको छ। यस्तो अन्धविश्वासले झनै जोखिम बढाउँछ, सबैले सचेत हुनुपर्छ।’ गौतमले यसलाई अन्धविश्वास भन्दै औषधि नै नभएको रोग देवी देउता पुजेर नजाने बताए। ‘यस्ता अन्धविश्वासले हामीलाई झनै समस्यामा पार्छ।
मानिसहरुलाई समूह जम्मा हुन प्रतिबन्ध गरिएको छ’, उनले भने, ‘समूह र भिड जम्मा हुँदा संक्रमण बढ्ने झनै खतरा हुन्छ। एक व्यक्तिलाई संक्रमण हुँदा सबैलाई सर्ने भएकाले अबदेखि यस्तो गतिविधि नगर्नू’, उनले भने, ‘कुनै देवी देउताका कारणले यो रोग भएको होइन। देवी देवताको पूजा गरेर कोरोना निको हुँदैन।’ गौतमले अहिलेसम्म कोरोनाको दबाई पनि नभएको बताए। ‘अहिलेसम्म कोरोनाको दबाइ बनेकै छैन’, उनले भने, ‘संसारभरका वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्। त्यसैले देउदेउता पुजेर कोरोना निको हुने भ्रममा कोही नपर्नु।’